घोडाघोडीमा दुई भाषाको पाठ्यक्रम लागु, कक्षा १ देखि ३ सम्म थारु भाषामा पनि पढाई हुने
कैलाली, ९ माघ । घोडाघोडी नगरपालिकामा दुई भाषाको पाठ्यक्रम लागु भएको छ । उक्त नगरपालिका अन्तर्गतका विद्यालयमा स्थानीय भाषाका पाठ्यक्रम निर्माण गरी लागू गरेको जनाइएको छ ।
नगरपालिकाले नेपाली र थारु गरी दुई भाषामा स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । यसै शैक्षिक सत्रबाट नगरपालिकाले कक्षा १ देखि ३ सम्म स्थानीय भाषाको पाठ्यक्रम निर्माण गरी पढाई शुरु गरेको जनाएको छ ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा भएको व्यवस्था अनुसार नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरीएको नगरपालिकाका शिक्षा शाखा प्रमुख उमेश राज रेग्मीले जानकारी दिए ।
उनले यस क्षेत्रको भौगोलिक स्थिति, इतिहास, पर्यावरण, कला, सम्पदा, प्रचलित स्थानीय संस्कार, संस्कृति, स्थानीय बोलीचाली, नेपाल भाषाको प्रचलित लिपि, रञ्जना लिपि, परम्परागत पेसा, व्यवसाय, स्थानीय सीप प्रविधि र स्थानीय उपचार विधि समावेश गरेर पाठ्यक्रम निर्माण गरी लागू गरीएको बताए ।
स्थानीय पाठ्यक्रमको अभावमा विद्यार्थीले आफ्नो कला, संस्कृति, परम्परा जस्ता महत्वपूर्ण विषयका बारेमा अध्ययन गर्न पाएका थिएनन् । प्रभावकारी पाठ्यक्रमको कमीले नै विद्यार्थीमा सीपमूलक व्यावहारिक ज्ञानको अभाव खड्किदै गएको महसुस गरिएकाले स्थानीय पाठ्यक्रम निर्माण गरिएको नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले बताए ।
उनका अनुसार केही महिना अगाडि शिक्षा युवा तथा खेलकुद शाखाले पाठ्यक्रमको प्रारूप माथि सरोकारवालाहरू सँग छलफल गरेको थियो । ३ दिन सम्म चलेको कार्यशाला गोष्ठीमा विभिन्न सरोकारवालाहरूले सुझाव दिएका थिए । पाठ्यक्रम निर्माणको लागि डा.राम बहादुर चौधरीको संयोजकत्वमा ३ सदस्यीय समिति पनि निर्माण गरिएको छ ।
सुझाव अनुसार स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको नगर प्रमुखले बताए । स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृति भावी पुस्तालाई हस्तान्तरण गर्नमा सघाउ पुग्ने नगरपालिकाले विश्वास लिएको छ । कक्षा १ देखि ३ सम्म पढाइने स्थानीय पाठ्यक्रम १०० पूर्णाङ्कको रहेको छ ।













