ठगीधन्दामा संलग्न रहेको आरोपमा राजाराम पक्राउ
धनगढी, ९ माघ । लामो समयदेखि ठगीधन्दामा संलग्न भइ फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिबाट ७३ लाख ९३ हजार ९०९ रुपैयाँ ठगेर फरार भएका गौरीगंगा नगरपालिका–८ का ३४ वर्षीय राजाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई लम्कीचुहा नगरपालिका–९ धनचैयामा आफ्नो भिनाजुको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । सो कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–१ की अनिता चौधरीले भारतको बेंगलोरबाट बिएससी नर्सिङ पास गरेको प्रमाणपत्रहरुलाई त्रिभुवन विश्वविद्यालयबाट मान्यता दिलाउने प्रलोभनमा पारेर राजारामले उनीबाट पाँच लाख रुपैयाँ ठगि गरेका थिए । ठगी शीर्षकमा चौधरीले मुद्दा दर्ता गराएपछि प्रहरीले राजारामको खोजी सुरु गरेको थियो ।
सोही कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–९ का ३३ वर्षीय शिवकुमार चौधरीलाई पनि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार राजाराम विगतबाटै ठगीधन्दामा संलग्न व्यक्ति हुन । उनले धनगढी उपमहानगरपालिका–८ मा गैर कानूनी रुपमा मल्टिपल इन्स्टिच्युट अफ टेक्नोलोजी प्रालि खोलेर विद्यार्थी भर्ना लिइ इन्स्टिच्युटमा अध्ययन गर्ने ११८ जना विद्यार्थीलाई ठगी गरेको प्रहरीले जनाएको छ । ती विद्यार्थीबाट राजारामले ४९ लाख २८ हजार ४९५ रुपैयाँ ठगी गरेको जाहेरीका आधारमा अदालतले राजारामलाई दुई महिना कैद र तीन लाख २८ हजार ४९५ जरिवाना सुनाएको थियो । उनी विरुद्ध पहिलो मुद्दा २०७३ मंसिरमा परेको थियो ।
यसैगरी, सोही इन्स्टिच्युटले विद्यार्थीको भर्ना शुल्क र मासिक शुल्क गरी १९ लाख ६५ हजार ४१४ रुपैयाँ ठगी गरेको भन्दै राजारामविरुद्ध दोस्रो पटक प्रहरीमा मुद्दा दर्ता भएको थियो ।













