हेलिकप्टर मार्फत खप्तड अवलोकन, दश हजारदेखि तिस हजार सम्माको प्याकेज
कैलाली, ५ माघ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको खप्तड अब हेलिकप्टर मार्फत अवलोकन गर्न सकिने भएको छ ।
पैदल र सडक मार्ग हुँदै खप्तड जाने अवस्था नभएपछि हेलिकप्टर मार्फत खप्तड पुराउने र त्यहाँ रमाउने प्याकेज आएको हो ।खप्तड होमस्टे झिग्राना डोटीले हेलिकप्टर मार्फत खप्तड लैजाने प्याकेज ल्याएको छ ।
आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ १४ गते देखि १८ गते सम्म हेलिकप्टर मार्फत खप्तड पुग्ने व्यवस्था गरिएको जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा होमस्टेका प्रवन्ध निर्देशक दीपक कुमार खड्काले हेलिकप्टर मार्फत खप्तड पुग्नका लागि विभिन्न प्याकेजहरू रहेको जानकारी गराए । ५ दिनमा ३ सय पर्यटकलाई खप्तड पुराउने योजना रहेको खड्काले बताए । उनले खप्तड पुगेकाहरूलाई कम्तिमाम आधा घण्टा हिउँमा रमाउन दिने योजना रहेको समेत जानकारी दिए।
खप्तड घुम्नाको लागि विभिन्न प्याकेज बनाइएके खड्काले जानकारी दिए । उनका अनुसार दिपायल – खप्तड देखि खप्तड– दिपायल १० हजार, झिग्राना–खप्तड देखि खप्तड झिग्राना ८ हजार (सञ्चारकर्मीको लागि ७ हजार ), धनगढी– खप्तड देखि खप्तड–धनगढी ३० हजार, धनगढी – दिपायल प्लेन, दिपायल खप्तड हेलिकप्टर दुवै तर्फ एक रात २ दिन खान बस्न सहित २१ हजार ५ सय, धनगढी–दिपायल स्थलमार्ग (बुकिङ गाडी), दिपायल –खप्तड हेलिकप्टर १५ हजार रहेको छ ।













