नयाँ प्रजाति कोरोना, नेपालमा तीन जना संक्रमित भएको पुष्टि

काठमाडौं ५ माघ । बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ प्रजाति नेपाल पनि भित्रिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट फर्किएका तीन जनामा नयाँ प्रजातिको कोरानाभाइरस संक्रमण भएको पुष्टि गरेको हो।

सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले हङकङस्थित् विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना देखिएको उल्लेख गरेका छन्।

बेलायतबाट आएका २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा बेलायतमा देखिएको कोरोनाको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जनाएको छ। डा. गौतमका अनुसार संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण देखिएको छैन।

डा. गौतमका अनुसार सोमबार मात्र उक्त रिपोर्ट हङकङबाट प्राप्त भएको हो। बेलायतबाट आएका ६ जनामा १३ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको भएरनभएको यकीन गर्न नेपालले विश्व स्वास्थ्य संगठनको सहयोगमा २७ पुसमा हङकङस्थित प्रयोगशालामा नमूना पठाएको थियो।

नयाँ प्रजातिको भाइरस तीव्र रुपमा संक्रामक रहेको अध्ययनले पुष्टि गरिसकेको छ। यो भाइरसको प्रजाति पहिलेको भन्दा ७० प्रतिशत बढी संक्रामक मानिन्छ। बेलायतमा नयाँ प्रकारको कोरोनाको संक्रमण बढेपछि बन्दाबन्दी गरिएको छ।

स्वास्थ्य मन्त्रालयले नेपालमा जबसम्म कोरोनाको खोप उपलब्ध हुँदैन तबसम्म स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न अपील गरेको छ।