माघको बिदा स्थानीय तह अनुसार फरक, जोशीपुरमा माघ ४ सम्म विदा

धनगढी, २९ पुस । माघपर्वको अवसरमा कैलालीका स्थानीय तह आ–आफ्नै तरिकाले बिदा दिएका छन् । कैलालीको थारु बाहुल क्षेत्रका केही पालिकाले दुई दिन विदा दिएका छन् त केही पालिकाले तीन दिन बिदा दिने निर्णय गरेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिकाले माघ पर्व मनाउनको लागि १ दिन मात्रै विदा दिने निर्णय गरेको नगर प्रमुख नृप वडले बताए । उनले धनगढी उपमहानगरपालिकामा सरकारको निर्णयलाई मान्यता दिने बताए ।

यस्तै कैलारी गाउँपालिकामा तीन दिन विदा दिने निर्णय भएको छ । थारु समुदायमा पुसको मसान्तको दिनदेखि नै पर्व शुरु हुने भएकोले पुस २९, १ र २ गते विदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष लाजुराम चौधरी बताए । उनले पुस २९ गते सुवर मर्ना दिन (बंगुर कात्ने दिन) भएकोले मासुको जोहो गर्नलाई सजिलो होस् भनि २९ गतेदेखि नै विदा दिएको बताए ।

यस्तै भजनी नगरपालिकामा पनि ३ दिन विदा दिने नगर प्रमुख शेरबहादुर चौधरी बताए ।

जानकी गाउँपालिकाले दुई दिन अर्थात् १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छ । जोशीपुर गाउँपालिकाले ४ गते गतेसम्म बिदा दिने निर्णय गरेको छ । गाउँपालिको निर्णय अनुसार १ गते सरकारले नै सार्वजनिक विदा दिने भएकोले २ र ४ गते विदा दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष गीता चौधरीले जानकारी दिईन् । विचमा ३ गते भने शनिबार पर्दछ ।

गौरीगंगा नगरपालिकाले भने दुई दिन विदा निर्णय गरेको छ । नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीका अनुसार पुस २९ गते र माघ १ गते विदा दिने निर्णय भएको हो ।

यस्तै गोदाबरी नगरपालिकाले पनि आज भोली विदा दिने निर्णय भएको उपप्रमुख रत्ना कठायतले जानकारी दिईन् । उनका अनुसार माघमा कति दिन विदा दिने भन्ने विषयमा खासै कुरापनि नउठेको बताईन् ।