कोरोनापछि बामे सर्दै थारु होमस्टे

कैलाली २६ पुस । कैलालीको लम्की चुहानगरपालिका ३ मा मुक्तकमैयाहरुले सञ्चालन गरेको बसेरा थारु होम स्टे कोरोना पछि बामे सरीरहेको छ । सुरुवाती अवस्थामा नै सो होमस्टे कोरानाले प्रभावित भएको थियो ।

होमस्टेका सचिव दिपु चौधरीले ऋण लगानी गरेर सञ्चालन गरेको होमस्टे सञ्चालनमा ल्याएको महिना नपुग्दै ठप्प भएपछि निकै मारमा परेको बताउँछन्। सो होमस्टे कर्णाली चिसापानी पर्यटन क्षेत्र सँगै जोडिएको छ।

सचिब दिपुका कार्णालीका माछा, महुवाको रक्सी, लोकल कुखुरा, अन्नदीको भात, ढिक्री लगायतको थारु परिकार खाना पाउँनु बसेरा होमस्टेको विशेषता रहेको बताए । पर्यटन बोर्ड र स्थानीय प्रशासनले सञ्चालनमा सहयोग गरे पहुनालाई स्वागत गर्न तयार रहेको उनी बताउँछन्।

शुरुमा मापदण्ड पुर्याउन नसकेर निकै दुख गरि तयार पारेको संरचनालाई पुनःनिर्माण गरि २०७६ माघ २७ गते लाइसेन्स प्राप्त गरेको सचिब चौधरी बताए । उनले भने ‘शुरुमा दैनिक ५० देखि ७० जनाको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गरेका थिए । तर महिना नपुग्दै कोरोनाले प्रभावित हुन पुग्यो ।’

उक्त शिविरमा ३०५ घरधुरी छ, जस मध्ये ७ घरमा होमस्टे सञ्चालन भएको छ । यो होमस्टेलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न लम्की चुहानगरपालिका वडा नं. ३ ले बर्दियाको डल्लाको होमस्टे, कञ्चनपुरको रानाथारु होमस्टेमा भ्रमण समेत गराएको सचिब चौधरीले बताए ।
‘कोरोना महामारी पछि सरकारले बनाएको मापदण्ड अपनाएर पुनः होमस्टे सञ्चालनमा ल्याएका छौं, तर अहिले दिनमा ५ देखि ७ जना सम्म आन्तरिक पर्यटकहरु आईरहेको छन् ।’

उक्त शिविरमा वडा कार्यालयले १० लाख बराबरको लगानीमा सार्वजनिक भवन निर्माण गरिदिएको छ । होमस्टे सञ्चालक समितिले होमस्टेलाई व्यवसायीकरुपले व्यवस्थित गर्न लोप हुन लागेको नाचगान कला संस्कृति प्रर्दशनको लागि क्लबहरुलाई टीम तयार गर्न लगाईरहेको छ । टीम तयार भएपछि विस्तारै सोही भवनमा नाचगानहरु देखाउन सकिने सचिब चौधरी बताउँछन् ।

यस्तै ८ महिना पहिले कैलालीको धनगढी उपमहानगरपालिका १६ स्थित थारु होमस्टे गाउँ भादाका घर नंं. २ का सञ्चालक पुनाराम चौधरीको दिनचार्य पहुनाहरुको स्वागत सत्कारमा बित्थ्यो।

उनको जिविकोपार्जनको प्रमुख माध्यम नै होम स्टे सञ्चालन हो। पहुनाको सेवा सत्कार गरेबाफत पाउने सेवा शुल्क नै प्रमुख आयस्रोत हो। तर कोरोना महामारीले होमस्टे सुनसान भयो। स्थानीयको गुजाराको माध्यम नै सुकेको छ।

पुनाराम चौधरी भन्छन्, ‘पहिले दैनिक जसो पहुनाको आवागमन भैराख्थ्यो। स्थानीय कला संस्कृति, साधन स्रोतको खपत हुन्थ्यो। नियमित आम्दानी हुन्थ्यो। तर महामारीले गर्दा हाम्रो रोजीरोटी नै प्रभावित भयो।’

पछिल्लो ८ महिनायता महमारीले आगन्तुकहरुको आवागमन रोकिएपछि सुनसान भएको होमस्टे पुन सञ्चालनमा आईसकेकोले पहुनाहरुको स्वागत गर्न उनीहरु आतुर भएको बताएका छन्।

थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. १६ का वडा अध्यक्ष लक्ष्मीनारायण चौधरीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर होमस्टे सञ्चालन गर्ने बताउँछन्।

धनगढी बजारदेखि १७ किलोमिटरको दुरीमा रहेको भादा थारु जातिको विशुद्ध बसोबास रहेको वस्ती हो । जहाँ हालसम्म २५ हजार बढी आन्तरिक र ३ सय बढी बाह्य पर्यटकहरुले अवलोकन गरिसकेका छन्।

थारु होम स्टे गाउँ भादा थारु जातिको कला संस्कृति, भेषभुषाको धरोहर नै मानिन्छ । सोही रैथाने कला संस्कृति, भेषभुषा, खानपानको जगमा टेकेर स्थानीयहरु सन २०११ देखि होम स्टे सञ्चालनमा ल्याएका हुन् । हाल २० घरमा होमस्टे सञ्चालन हुँदै आएको छ।

भादा होमस्टे मात्रै होइन, कैलाली कञ्चनपुर जिल्लामा सञ्चालित करिब आधा दर्जन होम स्टे यतिबेला कोरोनाले प्रभावित भएका छन्।
थारु होमस्टेमा मौलिक परिकार ढिक्री, खरिया, फुलौरी, अण्डीक् भात, खुर्मा, पनझझरा, कचरीक् बरिया, घोंघी, गेङटा, सुटही, मुसाको सेकुवा, सिंध्रा माछा, महुँवाको रक्सी, चामलको रक्सी र जाँरको झोललगायत खानपानले पर्यटकहरुलाई स्वागत गर्दै आएका छन्।

भादा होमस्टेको विकास तथा पर्यटन प्रवद्र्धनका लागि २०६८ देखि लगातर ९ वर्ष सम्म जनबरी १ दखि ७ सम्म भादा महोत्सव पनि सञ्चालन हुनेगर्दथ्यो तर यो वर्ष कोरोनाका कारण महोत्सव थप्प भएको अध्यक्ष चौधरी बताए ।