एउटै मञ्चमा प्रधानमन्त्रीको सम्बोधनलाई सांसद रानाले गरे खण्डन, ‘टीकापुर घटना राजनीतिक मुद्धा हो’

धनगढी, २४ पुस । नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको जनसभाको मञ्चबाट संघिय सांसद नारदमुनि रानाले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनलाई खण्डन गरेका छन् ।

प्रधानमन्त्री ओलीले टीकापुर घटना तथा थरुहट आन्दोलनबारे दिएको अभिव्यक्तिलाई सांसद नारदमुनि रानाले सिधै ‘खण्डन’ गरेका हुन् ।
सम्बोधन गर्दै प्रम ओलीले जेलमा रहेका नेताहरुका लागि केही गर्न नसकिने बताएका हुन्।

‘यहाँ जात–जातको बीचमा मारमारको अवस्था ल्याए। टीकापुर काण्डको विभिन्न ढंगले रचना गरियो। नक्कली मान्छे ल्याए, उचाले, जनताको बीचमा कसैले थारुको नारा लगाए, कसैले पहाडियाका। जनता–जनतामा विभाजन ल्याउन खोजे ।’

उनले अगाडि थपे, ‘अहिले पनि कतिपय थारु नेता जेलमा छन्। कसैलाई वारेन्ट होला। यी सबै हामीले हेरिरहेका छौ। पहिले नै अदालती प्रक्रियामा गइसकेका, पहिले नै असहज कुरामा फसिसकेकालाई किनारामा नलगाइ केही गर्न सकिने हुँदैन, कानुनी हिसाबले।’

त्यस्तै, प्रम ओलीले पहिचानको राजनीति गरेर विध्वस मचाउने काम भइरहेको समेत टिप्पणी गरेका छन्। तराईमा जारी पहिचानको राजनीतिलाई रुवान्डा नरसंहार सँगै जोड्दै प्रम ओलीले थारु जातिलाई विकासमा सरकारलाई सहयोग गर्नुपर्ने समेत बताए ।

प्रधानमन्त्री सो मञ्चमै आसीन रहेका बेला सांसद रानाले टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा सम्बोधन गर्नुपर्ने माग गरे । उनले भने, ‘नेपालको संविधान बन्दै गर्दा टीकापुर घटना घट्यो। जुन नहुनुपर्ने थियो। न चाहदा नचाहदै घट्यो। म ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्न चाहान्छु।’

सो जनसभाको अतिथि सत्कार उपसमितिका संयोजक समेत रहेका रानाले टीकापुर घटनालाई पूर्व न्यायधीश गिरिशचन्द्र लाल आयोगले तयार पारेको प्रतिवेदनको आधारमा सम्बोधन गर्न समेत आग्रह गरे।

‘हामीले जनताको अधिकार प्राप्तिका लागि, जनताको हकहीतको लागि जनताले थुप्रै आन्दोलन गरेका छन्। राणा शासन पतन, पञ्चायती व्यवस्थाको पतनदेखि गणतन्त्रसम्म थुप्रै जनताहरुले सहादत प्राप्त गरेका छन् ।’

‘म सम्पूर्ण कैलालीवासीको तर्फबाट म प्रधानमन्त्री ज्यूलाई अनुरोध गर्न चाहान्छु, टीकापुर घटना राजनीतिक घटना हो। यसलाई कुनै जाति विशेषको आन्दोलनको रुपमा नभई समग्र नेपाली जनता तथा कैलालीवासीको अधिकारको लागि भएको आन्दोलनको रुपमा लिनुपर्छ। लाल आयोगको प्रतिवेदनमा टेकेर अन्यायमा परेका टीकापुरवासीलाई न्याय दिनुपर्छ।’ दिनेश खबरबाट