सुरक्षित मातृत्व सेवाका लागि छुट्टै प्रसूति अस्पताल निर्माण गर्न प्रदेश सरकारको पहल
धनगढी, २२ पुस । सुुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यलाई मध्य नजर गर्दै सुदूरपश्चिम प्रदेश सरकार सचेत तथा गम्भीर रहेको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । उनले महिला प्रजनन सुधार र नवजात शिशुको स्वास्थ्यमा सुधारका लागि छुट्टै प्रसूति अस्पतालका निर्माण गर्न प्रदेश सरकार पहल चालेको बताए ।
सुुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन (२०७५) र प्रदेश जनस्वास्थ्य सेवा ऐन (२०७६)को कार्यान्वयन सम्बन्धमा भएको कार्याशाला गोष्ठीमा मन्त्री सुवेदीेले यस्तो बताएका हुन् ।
कार्यक्रममा सामाजिक विकासमन्त्री सुवेदी ‘एक विद्यालय, एक नर्स’ लगायत थुप्रै कार्यक्रममार्फत मातृ तथा शिशु स्वास्थ्यमा काम गर्दै आईरहेको बताए ।
‘सदनदेखि जनतासम्म वकालत संजालमार्फत सीमान्तकृत महिलाहरुको प्रजनन स्वास्थ्य अधिकार प्रवद्र्धन’ परियोजना अन्तर्गत सुरक्षित मातृत्व संजाल महासंघ नेपाल र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजना मा भएको कार्यक्रममा महिला प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य सम्बन्धी छलफल भएको थियो ।
यस्तै वरिष्ठ अधिवक्ता प्रयागदत्त भट्टले सुुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले ऐनमा रहेका सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धी व्यवस्थाबारे जानकारी दिए ।
ऐनको प्रस्तावनामै नेपालको संविधानमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुँच योग्य बनाउने सम्बन्धमा आवश्यक व्यवस्था नभएकोले संघीय संसदले यस्ता ऐन बनाउन जरुरी रहेको बताए ।
कार्यक्रममा सामाजिक विकास समितिका अध्यक्ष कुन्ती जोशी, अर्थ विकास समितिका अध्यक्ष हर्कबहादुर कुँवर, धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट, सेती प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र, डा खगेन्द्र भट्ट लगायतको सहभागिता रहेको थियो ।













