थरुहट थारुवान राष्ट्रिय मोर्चाको जनजागरण अभियान शुरु, देशव्यापी आन्दोलन चर्काउने रणनीति तयार

कैलाली, २२ पुस । थरुहट थारुवान राष्ट्रिय मोर्चाले माघ महिना भित्र टीकापुर मुद्दा सम्बन्धि उच्च अदालतको फैसला र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन विरुद्ध देशव्यापी आन्दोलन चर्काउने रणनीति तयार गरिरहेको छ ।

मोर्चाको जनजागरण अभियान अन्तर्गत बुधबार कैलालीमा भएको अन्तक्रिया तथा भेलाबाट आन्दोलन चर्काउने रणनीति बनाइएको हो । उच्च अदालतको पुर्वाग्रही फैसला तथा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघट्न जस्तो असंवैधानिक कदम विरुद्ध आन्दोलन देशव्यापी चर्काउने मोर्चाका जिल्ला अध्यक्ष माधव थारुले जानकारी दिए ।

मोर्चाले महिला तथा युवा, विद्यार्थी मोर्चा, बडघर भलमन्साको जिल्ला सम्मेलनका लागि जिम्मेवारी पनि बाडफाँट गरेको छ । मोर्चाले माघ १० गते थरुहट थारुवान महिला तथा युवा मोर्चाको जिल्ला सम्मेलन जसका लागि सुशिला चौधरी, शर्मिला चौधरी, धना चौधरीलाई जिम्मा तोकेको छ । त्यस्तै युवा सम्मेलनका लागि शंकर चौधरी, यम चौधरी, सुन्दर चौधरीलाई जिम्मेवारी तोकेको छ ।

थरुहट थारुवान विद्यार्थी मोर्चाको जिल्ला सम्मेलनका लागि आशिष चौधरीलाई जिम्मेवारी तोकेको छ । त्यस्तै १५ गते भित्र बरघर भल्मन्साको जिल्ला सम्मेलनका लागि बुधराम चौधरी, गोठु चौधरीलाई जिम्मेवारी तोकिएको छ ।

भेलाले थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीको जिल्ला सल्लाहकारमा वुद्धिजीवी तथा अगुवा नेपालु चौधरीलाई नियुक्त गरिएको छ ।