गैंडाको खाग र सालको गोलिया बरामद

धनगढी, २० पुस । कैलाली प्रहरीले कैलालीले गैंडाको खाग र सालको काठ बरामद गरेको छ ।

आइतबारराति सुदूरपश्चिम प्रदेश प्रहरी, इलाका प्रहरी कार्यालय भजनी र जोशीपुरबाट खटेको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–७ भगतपुरबाट १६ दशमलव २७ क्यूफिट सालको गोलिया बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

से १ त ८७२ नम्बरको ट्रयाक्टरमा पछाडि डल्लपमा लोड गरेर लगिदैं गरेको अवस्थामा चार वटा गोलिया बरामद हो । प्रहरी टोलीलाई देखेर ट्रयाक्टर चालक भने फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

यसैगरी, इलाका प्रहरी कार्यालय भजनीबाट खटेको प्रहरीले दुई वटा मोटरसाइकलमा लोड गरेको सालको गोलिया बरामद गरेको छ ।

प्रहरीले जोशीपुर गाउँपालिका–३ मा से २ प ५४२८ र से १ प ८७५९ नम्बरको मोटरसाइकलमा दुई वटा गोलिया लोड गरिएको अवस्थामा फेला पारेको हो । मोटरसाइकलमा बरामद एउटा गोलियाको लम्बाई पाँच फिट र चौडाइ ५।५ फिट र अर्को गोलियाको लम्बाइ पाँच फिट र चौडाई ३।४ फिट रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बरामद काठ, ट्रयाक्टर र मोटरसाइकल सव डिभिजन कार्यालय भजनीलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
त्यसै गरि कैलाली बर्दगोरिया गाउँपालिका वडा नं. ५ कोईलीभुरुवा बस्ने बर्ष ५८ को नैन बहादुर कठरिया अटोरिक्साको पछाडीको सिट माथी सेतो प्लाष्टिकको झिल्लीमा खैरो रंङ्गको गैंडाको खाग लुकाई राखेकोअवस्थामा पक्राउ गरेको हो ।

गैंडाको खाग जस्तो देखिने १७१ ग्राम ९६० मिलि ग्राम तौल भएको बस्तु सहित कठरियालाई पक्राउ गरिएको र आवश्यक कारबाहीका लागी सव डिभिजन वन कार्यालय साँडेपानी पठाएको जनाएको छ ।