संसद विघटनप्रति सुदूरपश्चिम प्रदेश संसदीय दलको विरोध

धनगढी, १८ पुस । सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठकले संसद विघटनप्रति विरोध जनाएको छ । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकमा नेकपाका स्थायी कमिटी सदस्य भीम रावल लगायतको सहभागीता रहेको थियो ।

बठैकले मुख्य तीन बुँदामा निर्णय पारित गरेको प्रेस वतव्य जारी गरेको प्रदेश सांसद तथा प्रमुख सचेतक तारा लामा तामांगले जानकारी दिए ।
लामाको हस्ताक्षरमा रहेको वतव्यमा देश कोरोना महामारीको संक्रमणसंग जुझिरहेको र आर्थिक समस्या झेलिरहेको स्थितिमा जनताले सुनिश्चित राजनीति र राष्ट्रिय एकताको चाहना राखिरहेको समयमा पार्टीमा कुनै छलफल नगरी नेपालको संविधानको व्यवस्था र मर्म विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्याशित रुपमा प्रतिनिधि सभाको विघटन गरी नेपाली जनताले पाँच बर्षका लागि दिएको मत प्रति आघात पुगेको छ । यस्तो संविधानको व्यवस्था र मर्मविपरीत कार्यको संसदीय बैठकले विरोध जनाएको छ ।

वतव्यमा लेखिएको छ, प्रतिनिधि सभाको विघटन संगसैगै हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उत्पन्न विभाजनको स्थितिप्रति दुःख प्रकट गर्दै यस चुनौतीको घडीमा फुट र विग्रहको बाटोमा नलाग्न तथा पार्टी केन्द्रीय कमिटीको बहुमतले गरेको विधिसम्मत निर्णय र निर्देशनमा दृढताका साथ उभिने अठोट गर्दै यो बैठक हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै जनप्रतिनिधिहरुलाई फुट र विग्रहमा नलाग्न तथा कुनैपनि प्रकारको भ्रममा नपर्न हार्दिक आव्हान गर्दछ ।

साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिम प्रदेश सभाका हामी सदस्यहरु पार्टीको विधानसम्मत बहुमतको पक्षमा रहेको स्पष्ट गर्दै यस प्रदेशको संसदीय दल तथा सरकारका नियमित काम–कारवाही एकताबद्ध रुपमा अगाडि बढाउने संकल्प गर्दै अन्यथा गरिने कुनैपनि कुप्रचार र भ्रमबाट नअलमलिन सम्बद्ध सबैमा हार्दिक आग्रह गर्दछौं ।