विद्यार्थीलाई समुदायको बास्तविकता जान्न अनुसन्धानको अभ्यास

कैलाली, १६ पुस । कैलालीका गोदावरी नगरपालिकामा रहेको एभ्रेष्ट एकेडेमीलेले विद्यार्थीहरुलाई समुदायस्तरका विभिन्न मुद्दामा अनुसन्धानको अभ्यास गराईरहेको छ ।

विद्यार्थीहरुलाई किताबी ज्ञानमामात्रै सीमित नराखी उनीहरुलाई बाहिरी ज्ञानमा पोख्त बनाउन समुदायमै पुगेर अनुसन्धानको गर्न सिकाई रहेको विद्यालयका प्रध्यापक बंशीराम चौधरीले बताए । उनले समुदायको वास्तविकतासंग विद्यार्थीलाई परिचित गराउने उद्देश्यले समुदायको अध्ययन, अनुसन्धान गराउने अभ्यास गर्न थालिएको जानकारी दिए ।

विद्यालयले पहिलेदेखि नै विद्यार्थीलाई बाहिरी ज्ञानमा सक्षम बनाउन विभिन्न खाले प्रयोगात्क सिकाई कार्यक्रम सञ्चालन गर्दै आईरहेको प्राध्यापक चौधरीले बताए । उनले यो वर्ष कोरोना कहरले गर्दा व्यवस्थित र सरकारको मापदण्ड अपनाएर विद्यार्थीहरुलाई समुदायमै लगेर अनुसन्धान गर्न सिकाएको बताए ।

‘विद्यार्थीले आफै ज्ञानको निर्माण गर्न सकुन भनेर उनीहरुलाई समुदायको अध्ययन गराउन थालेका हौं ।’ ‘किताब त एउटा माध्यममात्रै हो । तर, विद्यार्थीले आफै ज्ञान निर्माण गर्न र त्यसलाई बाँड्न सकुन भनेर हामीले उनीहरुलाई समुदायमा लगिरहेका छौं ।’ प्रध्यापक चौधरीले भने ।

उक्त विद्यालयका कक्षा ९ र १० का विद्यार्थीले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणी मुक्त कमैया शिविर र विजयसाल होमस्टे पुगेर विभिन्न सामाजिक मुद्दामा अनुसन्धान गरेका थिए ।

कोरोनाले जीवनयापनमा पारेको प्रभाव, विजय साल होमस्टेको आन्तरिक पर्यटन, महिला सशक्तिकरण, मुक्त कमैयाहरुको शिक्षा र चेतनाकोस्तर जस्ता विषयमा विद्यार्थीले अनुसन्धान गरेका हुन् । यसैगरी, थारु चाडपर्व, मुक्त कमैयाका नयाँ पेशा, मुक्त कमैयाको पहिले र अहिलेको अवस्थाको तुलनात्मक अध्ययन, भलमन्सा प्रथा एक सूक्ष्म प्रजातान्त्रिक अभ्यास लगायतका विषयमा अध्ययन गरिएको बताइएको छ ।

विद्यार्थीले विभिन्न विषयमा गरेको अध्ययनको निष्कर्षसहित प्रतिवेदन तयार पारेर कृष्णपुर नगरपालिकालाई बुझाउने छन् । ‘यसले स्थानीय सरकारलाई नीति तथा कार्यक्रम निर्माणमा पनि सहयोग पुग्नेछ ।’

सो विद्यालयका विद्यार्थीले गोदावरी नगरपालिका र कृष्णपुर नगरपालिकामा सरकारी कामकाजका लागि तयार पारिने चिठीपत्रमा हुने शब्द शुद्धाशुद्धीबारेसमेत अध्ययन गर्ने जनाइएको छ । दुवै नगरपालिकाको अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने प्रिन्सिपल चौधरीले बताए । उनले आफ्नो विद्यालयले ‘मल्टिपल इन्टेलेक्चुअल’ र स्टीम (साइन्स, टेक्नोलोजी, इन्जिनीयरिङ र म्यानेजमेन्ट) सिद्धान्तका आधारमा आफ्नो विद्यालयले पठनपाठन गराउँदै आएको बताए ।