संविधानको अपमान गर्ने दुस्चेष्टा नगर्न डा. रावलको आग्रह

कैलाली, १४ पुस । संसद विघटनको विरोधमा नेपका प्रचण्ड–नेपाल पक्षले आज आयोजना गरेको विरोध सभामा नेता डा. भिम रावलले हालै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विस्तार गरेको मन्त्रीमण्डलप्रति कडा टिप्पणी गरेका छन् ।

रावल सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत हुन् । उनले नवनियुक्त वन मन्त्री प्रेम आलेमगरलाई अंकिट गर्दै ‘चोरलाई साँचो दिए राज्यको हित होला कि दोहन?’ पछिल्लो समयमा वन मुद्दामा मुछिएका आले वन मन्त्रीमा नियुक्त भएपछि सर्वत्र टिकाटिप्पणी भैरहेको छ ।

उनले प्रधानमन्त्रीद्वारा नेपालको संविधानको धारा ७६ र ८५ को गलत प्रयोग गरि नेपाली जनताहरुका सपना कुल्चिने र संविधानको अपमान गर्ने दुस्चेष्टा नगर्न आग्रह गरे ।

नेता रावलले वर्तमान सरकारले देशभक्तिको ठूलठूला कुरा बोल्ने तर व्यवहारमा भने कमजोर रहेको टिप्पणी समेत गरे । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्शा पनि प्रधानमन्त्रीले बाध्य भएर प्रकाशित गरेको उनले बताए ।

‘नक्शा किन चाहियो ? नक्शामा चुच्चे भूमि राख्नै पर्छ र ? भनेर उहाँले प्रश्न गर्नुहुन्थ्यो’, रावलले भने । ‘हामीले सदन र देशभक्त जनताले सडकबाट दबाब दिएपछिमात्रै उहाँले बाध्य भएर नक्शा प्रकाशित गर्नु भएको हो ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीति गर्ने भए सुदूरपश्चिम आउन चुनौती समेत दिए । राष्ट्रपतिले गुटको मात्रै संरक्षण गरेको नेता रावलको आरोप थियो ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र संसदको विशेष अधिवेशन माग गर्दै आफु ८३ जना प्रतिनिधी सभा सदस्यहरुको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय गएको तर निवेदन दर्ता नगरिएको उनले बताए । उनले संविधानको मर्म र देशको मर्यादालाई कुल्चने राष्ट्रपतिलाई गुटको राजनीति गरेको आरोप लगाए ।