मटर हत्याकाण्डका मुख्य योजनाकार सार्वजनिक
धनगढी, १३ पुस । धनगढीको जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरिक्षक गोविन्द विक र प्रहरी जवान राम बहादुर साउँदको हत्या प्रकरणका मुख्य योजनाकार भनिएका एक जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी मुख्य योजनाकार भनिएका धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुक बहादुर भनीने अमर रानालाई सार्वजनिक गरेको हो।
तस्करीको ट्रान्जिट क्षेत्र मानिने धनगढी जुुगेडा क्षेत्रमा तस्करको गिरोहले गोरुगाडा (डल्लव) मा मटर लिएर भारत तर्फ तरकरी गरिरहेको अवस्थामा गस्तीमा रहेका प्रहरीबीच दोहोरो झडप भई घटना घटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम समशेर जबराले जानकारी दिए ।
गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वेपत्ता भएका थिए।
बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि कार्तिक ४ गते साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए ।
अनुसन्धानको क्रममा विभिन्न मितिमा घटनामा संलग्न ९ जना पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना ,गब्बर भन्ने राज कुमार राना , राम निवास राना, टल्लु भन्ने दलराम राना, रोहित राना, गोपाल भन्ने राम गोपाल राना र राजिव गुप्ता लाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य पुरा गरी सम्मानित कैलाली जिल्ला अदालतले मंसिर १६ गते पुर्पक्षकालागि कारागार चलान गरिसकेको छ । भने एक जना राजिव गुप्ता भने रु। १,५०,०००।– धरौटी तिरी तारेख छुटेको प्रहरी प्रमुख जबराले बताए ।
घटनाका मुख्य योजनाकार भनिने राना घटना पश्चात भारत तर्फ भागेको, र निजको निरन्तर खोज तलास पछि बिशेष सुचनाको आधारमा सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय तथा यस कार्यालयबाट खटिएको बिशेष टोलीले सिमा नजिक मंसिर १२ गते राती 7:३५ बजे पक्राउ गरिएको हो ।













