द्वन्द्व प्रभावित महिलाहरुको मागः हाम्रा छोराछोरीलाई उच्च शिक्षासम्म पढाई देउ सरकार !

कैलाली, ६ पुस । द्वन्द्व प्रभावित महिलाहरु आफ्नो छोराछोरीलाई उच्च शिक्षासम्म पढाई दिन सरकारसंग माग गरेका छन् ।

मानव अधिकारका लागि महिला एकल महिलाको आयोजनामा भएको संक्रमणकालिन न्यायको लागि द्वन्द्व प्रभावित महिलाहरुको पहुँच विषयक कार्यक्रममा द्वन्द्व महिलाहरुले यस्तो माग गरेका हुन् ।

कैलारी गाउँपालिका ८ का राजु चौधरीले द्वन्द्व प्रभावितहरुको छोरा छोरीहरुलाई सरकारले उच्च शिक्षाको ग्यारेन्टि गर्नुपर्ने माग गरिन् । उनले भनिन् “कमाउने श्रीमानलाई द्वन्द्वको बेला गुमायो, न हामीसंग पैसा छ, न जमिन, श्रीमानको नाममा रहेको जमिनपनि त्रान्सफर भईरहेको छैन अनि बच्चाहरुलाई उच्चा शिक्षा कसरी पढाउने ?”

यस्तै जयन्ती पन्तले द्वन्द्व प्रभावितहरुलाई छिटो नै परिचय पत्रको व्यवस्था गरिदिन सरकारसंग माग राखिन् । “हाम्रा मान्छ देशकैलागि बालिदानी दिए, घर रित्तो भयो हामी केही पाएनौ । चुनावको बेला भोट किन्न आउछन् तर जितेपछि उही कान चिरेको जोगी ।”

यस्तै महिला अधिकारकर्मी गोमा आर्चायले संकटकालको बेला घर परिवार सबै त्यागेर बन्धुक उठाउन सक्ने महिला अयोग्यको विल्ला लाग्द उनलाई समाजिक पुर्नमिलन हुन गाह्रो भएको बताईन् । अयोग्य द्वन्द्वहरुको पीडा कसैले सम्बोधन गर्न नसकेको उनको भनाइ थियो । उनले देशमा हत्तियार विछ्याएपनि द्वन्द्व समाधान हुन नसकेको तर्क दिईन् ।

कार्यक्रममा आर्थिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको प्रमुख आतिथ्यतामा प्रदेश सांसद पुर्ण जोशी, घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेमकुमारी थापा, राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रिय संयोजक मोहन जोशी मानव अधिकारका लागि महिला एकल महिलाका केन्द्रिय सदस्य विमला पराजुली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अधिवक्ता गणेश कडायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।