प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिसः संसदीय व्यवस्था असफल भएको पुष्टि

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहान संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन्।

बिहान बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको संकटबीच प्रधानमन्त्रीले यस्तो कदम चालेका हुन्। यसको असर र प्रभाव aके हुन्छ भन्ने प्रष्ट छैन। नेकपाको स्थायी कमिटी बैठक आइतबार नै बस्दैछ।

सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशले नेकपामा पछिल्लो समय बढेको तनाव झन चुलिएको थियो। १ पुसमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।

पार्टीको निर्णयअनुसार अध्यादेश फिर्तासम्बन्धी निर्णय गर्न आलटाल गरेका प्रधानमन्त्री ओलीले शनिबार दौडधुप तीब्र पारेका थिए। उनले खुमलटारस्थित निवासमा पुगेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए भने पुल्चोकस्थित मन्त्री निवास पुगेर गृहमन्त्री रामबहादुर थापासँग समेत कुरा गरेका थिए। त्यसपछि प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए ।

सत्तारुढ (नेकपा) भित्रको भागबन्दाको झगडा संसद विघटनसम्म पुगेको छ । यसले राष्ट्यि राजनीतिमै संकट ल्याएको छ । यो भनेको संसदीय व्यवस्था असफल पुष्टि भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

सिफारिसपछि कांग्रेसको आकस्मिक बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ।

कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार कांग्रेस पदाधिकारीको बैठक दिउसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा राखिएको छ।

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद विघटनको सिफारिस गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै सशक्त प्रतिवाद गर्ने जनाएका छन्। प्रवक्ता शर्माले जननिर्वाचित संसदलाई यसरी विघटन गर्दा प्रमुख प्रतिपक्ष दल हेरेर नबस्ने र अन्य दलहरुलाई पनि साथ लिएर प्रतिवाद गर्ने बताएका छन्।

“संविधानमा लेखिएको भन्दैमा सबै निर्णय संवैधानिक हुँदैनन्”, उनले भने, “यो असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद हो, यसको कडा र सशक्त ढंगले राजनीतिक प्रतिवाद गर्छौं।”