स्थानीय सरकारलाई प्रविधिमैत्री बनाइ सुशासन कायम गर्न आरडीआरसीको सहयोग

कैलाली, २८ मंसिर। धनगढीमा रहेको ग्राम विकास अनुसन्धान केन्द्र (आरडीआरसी) ले स्थानीय सरकारलाई प्रविधिमैत्री बनाइ सुशासन कायम गर्न सहयोग गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा गरेको गतिविधिको सामाजिक परीक्षण कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।

आरडीआरसीले सेसी सुशासन परियोजनाको सहयोगमा कैलालीको धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा काम गर्दै आएको छ । स्थानीय सरकारलाई प्रविधिमैत्री बनाइ सुशासन कायम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ दुवै पालिकामा काम गर्दै आएको आरडीआरसीका अध्यक्ष दीर्घराज उपाध्यायले बताए ।

सामाजिक परीक्षण कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले आरडीआरसीले स्थानीय सरकारलाई ‘खुल्ला सरकार’ बन्न सिकाएको बताइन् ।

संस्थाले स्थानीय सरकारलाई सूचना र प्रविधिभित्र छिराउने काम गरेको उनको भनाइ थियो । ‘यसले जनप्रतिनिधिलाई जवाफदेही बनाउन र सुशासन कायम गर्न सहयोग पुगेको छ’, भट्टले भनिन् ।

कार्यक्रममा क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले सहयोगी सामाजिक संस्थाहरुको काम भनेकै स्थानीय सरकारलाई घचघच्याउने रहेको बताए । ‘सीबीओजहरुले त घचघच्याउने काममात्रै गर्ने हो’, उनले भने । ‘त्यसलाई पूरा गर्ने दायित्व र जिम्मेवारी स्थानीय सरकारको रहन्छ ।’

उनले स्थानीय सरकारलाई जवाफदेही बनाउनका लागि अन्तर्राष्ट्रिय एनजीओकोमात्रै भर पर्न नहुने उल्लेख गर्दै भने–‘स्थानीय सरकारले पनि यस्ता कार्यक्रमका लागि अपनत्व ग्रहण गरेर बजेट छुट्टयाउनु पर्दछ ।’ स्थानीय सरकारको डिजिटल पोर्टलमा कतिपय सूचना धेरै ढिलो गरेर अपडेट हुने गरेको उनले गुनासो गरे ।

यस्तै, सेसी सुशासन परियोजनाका सुदूरश्चिम संयोजक महेन्द्र शाहीले सामाजिक संस्थाहरुको जवाफदेहिताको महत्वपूर्ण औजार सामाजिक परीक्षण रहेको बताए । उनले सरकारले गरिरहेका काममा संघसंस्थाहरुको साथ सहयोग हुनु पर्ने उल्लेख गरे । ‘शासन सञ्चालनमा नागरिकको रचनात्मक सहयोग आवश्यक छ’, उनले भने ।

सुशासन परियोजनामार्फत आरडीआरसीले चार वर्षसम्म कार्यक्रम गर्दा सुशासनको काममा सहयोग भएको र यसले नीतिगत रुपमा पनि सकारात्मक प्रभाव पारेको शाहीको भनाइ थियो ।

आरडीआरसीका अध्यक्ष उपाध्यायले सेसी सुशासन परियोजनाको सहयोगमा विगत चार वर्षदेखि धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा सूचना प्रविधिको क्षेत्रमा काम गरेको बताए । उनले पछिल्लो समय गौरीगङ्गा नगरपालिकामा पनि सहयोग गरेको बताए ।

कार्यक्रममा पत्रकार टेकेन्द्र देउवाले आरडीआरसीले गरेका कामको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार उन्नती चौधरी, युवा चन्द्र पनेरु लगायतकाले बोलेका थिए । कार्यक्रमको सहजीकरण सुशासन परियोजनाका जिल्ला संयोजक ठाकुर करिया प्रधान र सञ्चालन गोमा आचार्यले गरेकी थिइन् ।

आरडीआरसीले परियोजना अन्तर्गत गत आर्थिक वर्षमा ६९ लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ । आउँदो जनवरीदेखि परियोजनाको अवधि समाप्त हुँदैछ ।