अपाङ्गमैत्री समाज निर्माण गर्न सामुहिक दबाबको आवश्यक

धनगढी, २५ मंसिर । अपांगता मानव अधिकार सम्बन्धि अन्तर सम्बाद कार्यक्रम बिहिबार धनगढीमा भएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सर्बाङिण अपांगता बिकास समाज नेपालको आयोजना, दिगो बिकास समाज भजनी, ओरेक कैलाली, कमैया प्रथा उन्मुलन समाज, हलिया महासघको सयुक्त आयोजनामा अपांगता भएका ब्यक्तिहरुको मानव अधिकारको अवस्था विषयक सरोकारवाला र मिडिया संगको अन्तर सम्बाद कार्यक्रम भएको हो ।

अपांगता अभियन्ता नरराज गिरिको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख मोहनदेब जोशी प्रमुख अतिथि रहेका थिए ।

सो अवसरमा बोल्दै आयोगका प्रमुख जोशीले सबैको सामुहिक दबाबबाटमात्र अपाङ्गमैत्री समाज निर्माण गर्न सकिने बताए । उनले भने ‘आयोगले पटक–पटक अपाङ्ता भएका व्यक्तिहरुको अधिकारका लागि ध्यानाकर्षण, सुझाव, सिफारिस गरिसकेको छ । तर, धेरै सुझाव मानेको छैन ।’ उनले सरकारले नटेरे कानुनी बाटो रोज्नुको विकल्प नरहेको बताए ।

राष्ट्रिय अपाङ्ग महासंघका पूर्व अध्यक्ष भीमबहादुर शाहले पटक–पटक अपाङ्गताको अधिकारका लागि लड्दा पनि कतैबाट सुनुवाई नभएको गुनासो गरे । उनले भने –‘अब अपाङमैत्री समाज निर्माण गर्न सडक आन्दोलन गर्नुपर्ने अवस्था रहेको छ ।’

ओरेक नेपालकी कार्यक्रम संयोजक विनु रानाले महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका लगायतका अधिकारको आवाज उठेपनि सम्बोधन नहुने गरेको बताइन ।

कार्यक्रममा अपांगता अधिकारकर्मी नन्दराज भट्टले सुदूरपश्चिम प्रदेशमा अपांगता भएका ब्यक्तिहरुको मानव अधिकारको अवस्था र कार्यान्वयनको अवस्था सम्बन्धमा कार्य पत्र प्रस्तुत गरेका थिए ।

सो अवसरमा भट्टले सुदूरपश्चिम प्रदेशमा अपांगता भएका ब्यक्तिहरुको मानव अधिकारको अवस्था विषयक २१ बु“दे ध्यानाकर्षण पत्र मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख मार्फत नेपाल सरकारलाई बुझाएका थिए ।