सम्झौता भएको पाँच महिनापछि सडकको काम
धनगढी, २५ मंसिर । कैलालीको धनगढीमा क्षेत्रीय शहरी विकास आयोजना अन्र्तगतका सडकहरुको सम्झौता भएको पाँच महिनापछि काम अघि बढेको छ ।
सम्झौता भएको २१ दिनभित्र निर्माण कार्य शुरु गर्ने दाबी गरेको निर्माण कम्पनिले पा“च महिनापछि बिहिबार एक समारोहको आयोजना गर्दै योजनाको शिलन्यास गरेको हो ।
‘निर्माण कम्पनीले ‘डिपिआर’ लगायतका प्रक्रिया सम्पन्न गरेपनि ‘प्लान्ट’ राख्ने स्थानको टुङ्गो नहुनु, चाडपर्व लगायतले मजदुर समस्या हुनु र खुटिया नदीमा नदीजन्य पदार्थको उत्खन्न नहु“दा तोकिएकै समयमा काम अघि बढ्न सकेको थिएन’ आयोजनाका सूचना अधिकारी श्याम बुढाथोकीले भने ‘अब योजनाको काम तिव्र रुपमा अघि बढ्छ ।’ उनका अनुसार निर्माण कम्पनीले पुरानो एयर पोर्टमा ‘प्लान्ट’ राखेको छ ।
बिहिबार शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशिला मिश्र भट्टले भनिन –‘हामी निर्वाचित भएर आउनु अघि देखिनै धनगढीको एकिकृत विकास गर्ने योजना अन्र्तगत यो (क्षेत्रीय सघन शहरी विकास परियोजना)को चर्चा थियो । तर, निर्वाचित भएको तीन वर्षसम्म पनि काम हुन सकेको थिएन ।’ उनले टेण्डर आह्वान, निर्माण कम्पनीसंग सम्झौता हु“दा पनि योजना अघि बढ्नेमा सशंकित रहेको बताइन । उनले भनिन –‘योजनाको शिलन्यास भएको छ । अब यसमा सबै सर्वसाधारणको साथ र सहयोग आवश्यक रहेको छ ।’
डिपिआरको आधा पनि सडक समेटिएन
क्षेत्रीय शहरी विकास आयोजना अन्र्तगत धनगढीमा ४३ किलोमिटर सडक निर्माण गर्ने योजना रहेको थियो । तर, आयोजनाको चर्चा भएको छ वर्षपछि उपमहानगरपालिकाले १० दशमलब २४ किलोमिटर सडक निर्माणको कार्य अघि बढाएको छ ।
आयोजना अन्तर्गत धनगढीमा बिभिन्न आकारका २३ वटा सडक निर्माण गर्ने भनिएपनि पहिलो चरणमा सात वटा सडकको काम अघि बढाइएको छ । धनगढी उपमहानगरपालिकाका अनुसार पहिलो चरणमा ठेक्का पाएको कालिका कन्ट्रक्सनले सात वटा सडक निर्माण गर्ने छ । जस अन्र्तगत चरणमा गुल्म–चर्च रोड (दुई हजार सात मिटर), धनगढी मेन रोडः ट्राफिक चौराहा देखि कैलालीनाला (एक हजार तीन सय ८० मिटर), हुलाकी सडक–क्याम्पस रोड– जाखोरताल (सात सय मिटर), क्याम्पस रोड– चटकपुर (तीन हजार छ सय ५० मिटर), धनगढी–खुटीया स्याउले रोड (आठ सय ७० मिटर ), मालपोत रोड (चार सय ३० मिटर) र हसनपुर रोड (एक हजार एक सय ५० मिटर) रहेका छन् ।
धनगढीको मुख्य सडक ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको सडकको चौडाई ३० मिटर राखिएको भएपनि अहिले भने २४ मिटर कायम गरि अघि बढाइन लागेको छ । आयोजना सूचना अधिकारी श्याम बुढाथोकीले भने –‘सडक भित्र झण्डै ३० घर पर्न लागेपछि २४ मिटरको चौडाईमा काम अघि बढाइएको हो । यसको चौडाई घटाएको होइन विस्तारै ३० मिटरनै बनाइने छ ।’ उनका अनुसार आयोजना र उपमहानगरपालिकासंग घर धनीलाई मुआब्जा दिन सक्ने क्षमता नभएपछि अहिले सडकको चौडाई घटाएर योजना अघि बढाइएको हो ।
स्थानीय रणबहादुर चन्दले आयोजना अन्तरगत तोकिएको सडक मापदण्ड भन्दा चौडाइ घटाएर बनाएकोमा चिन्ता व्यक्त गरे । उनले अहिले यत्तिको चौडाइले चाप धानेपनि पछि गएर सडकले चाप धँन्न नसक्ने बताए ।
उनले सन् २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड रुपैया“ बजेट अपुग हुने भएकाले सडक निर्माणको काम चरणवद्ध रुपमा अघि बढाइएको बताए । पहिलो चरणमा ६८ करोड पा“च लाख ९८ हजार सात सय चार रुपैया“को ठेक्का कालिका कन्ट्रक्सनले पाएको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले भने –‘छ वर्षसम्म आयोजनाको चर्चा बढी भयो तर, काम अघि बढ्ने । अहिले १० किलोमिटर बढीको योजनाको काम अघि बढेको छ भने एक महिनाभित्रै कैलालीपुलदेखि सेतोपुल लगायतका सडकलाई समेटेर थप १५ किलोमिटर सडकको टेण्डर आह्वान गर्ने तयारीमा छौं ।’ उनले यसै वर्षभित्र थप १५ किलोमिटर सडकको निर्माण कार्य पनि अघि बढाउन उपमहानगरपालिका लागि रहेको बताए ।
एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्रको टुङ्गो छैन
क्षेत्रीय शहरी विकास आयोजनाअन्र्तगत सडक, नालीसंगै एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्रको पनि योजना रहेको छ । धनगढी उपमहानगरपालिकाले शुरुमा वडा नम्बर १ मा सो केन्द्रका लागि स्थान टुङ्गो लगाएपनि स्थानीयको विरोधका कारण काम अघि बढ्न सकेको थिएन । अहिले उपमहानगरपालिकाले वडा नम्बर ७ स्थित पटेला सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा सो केन्द्र बनाउने योजना अघि बढाएको छ ।
वन क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्दा मन्त्रीपरिषदको स्वीकृत आवश्यक भएपछि अहिले योजना अघि बढ्ने टुङ्गो छैन । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले भने –‘फोहोरमैला व्यवस्थापन केन्द्रको काम पनि अघि बढीरहेको छ । छिट्टै हामीले डिपिआर तयार गराई वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारि टेण्डर लगायतका निर्माण प्रक्रिया अघि बढाउने छौं ।’
सर्वसाधारणनै वाधक
धनगढी उपमहानगरपालिकाको मुख्य सडकको चार किलोमिटरको काम अघि बढ्नुपर्ने थियो । तर, उपमहानगरपालिकाले पहिलो चरणमा एक किलोमिटर ३८ मिटरको मात्र काम अघि बढायो । स्थानीयको सहयोग नहु“दा थप सडकको काम पहिलो चरणमा समेटिन सकिएको थिएन ।
उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बिहिबार सडक शिलन्यास गर्दै भने –‘योजनाअन्र्तगत कति पय सडकमा भौतिक संरचना छन । त्यसमा पनि मुख्य सडकका स्थानीयको साथ र सहयोग नहु“दा पहिलो चरणमै सडकको योजना अघि बढाउन सकेनौं ।’ उनले दुई महिनाभित्रै कैलालीपुलदेखि सेतोपुलसम्मको सडकलाई समेटर थप १५ किलोमिटर सडकको टेण्डर आह्वान गर्ने तयारी रहेको बताउ“दै ‘सडक क्षेत्रमा पर्ने भौतिक संरचना आफै भत्काए विकास कार्यलाई तिव्रता दिन सहज हुने छ ।’ उनले धनगढीको विकासका लागि आम सर्वसाधारण, राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज लगायतको साथ र सहयोग आवश्यक रहेको बताए ।
‘सम्झौता भएको लामो समय हुदा पनि सडक निर्माणको काम अगाडी बढ्न सकेको थिएन’, नगरप्रमुख वडले भने, ‘शिलन्यास भयो निकै खुसी छु । सपनाको परियोजनाले काम सुरु गरेको छ ।’













