स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानः ‘संरचना भत्काउदा नकारात्मक सन्देश जान्छ’

धनगढी, १५ मंसिर । नेपाल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले चक्रपथ बिस्तारको दोश्रो चरणमा कलंकीदेखि चाबहिल सम्मको सडक बिस्तारको क्रममा विभिन्न धार्मिक सम्पदाहरु भत्काउने क्रममा विश्वसम्पदा क्षेत्र बचाऔँ अभियान शुरु धएको छ।

विश्वसम्पदा क्षेत्र बचाऔं अभियानका संयोजक आचार्य नुर्बु शेर्पाद्धारा जारी विज्ञप्तीमा विश्वसम्पदामा सूचीकृत स्वयम्भू क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजार मूर्तिसहितको स्तुपा (साङ्गे तोङ्कु) समेत भत्काउन गइरहेकोप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।

बुद्ध जन्मेको देशमा सरकार र सम्बन्धित निकायले गरेको कार्यले बौद्धमार्गीहरू तथा ऐतिहासिक–धार्मिक–सांस्कृतिक सम्पदाप्रेमीहरूको भावनामा गम्भीर चोट पुर्याएको विज्ञप्तीमा लेखिएको छ । साथै विश्व जगतमा समेत धुलो उडाउँदै बुद्धको मूर्तिको संरचना भत्काउनेजस्तो कार्यले नकारात्मक सन्देश जाने बताएको छ ।

विकासको गति अबरुद्ध हुन नदिने र बौद्धमार्गीहरूको धार्मिक सम्पदाको पनि संरक्षण हुने गरी सो ऐतिहासिक–सांस्कृतिक–धार्मिक संरचना नभत्काइकन पनि सडक बिस्तार गर्न सकिने विकल्प हुँदाहुँदै सरकार र सडक बिस्तार गर्ने सम्बन्धित निकाय जबर्जस्त रुपमा अगाडि बढिरहेकोप्रति असहमति जनाइएको छ ।

विज्ञप्तीमा बुद्ध जन्मेको देशका समस्त बौद्धमार्गीहरू र धार्मिक शान्ति तथा सद्भाव पक्षधरहरू एकजुट भई भगवान बुद्धका हजार मूर्तिहरू सहितको स्तुपा, सीमा स्तम्भ र हाम्रो दैनिक नित्यकर्म गर्ने मानेहरू बचाउन तथा नेपालकै गौरवको रुपमा चिरपरिचित रहेको स्वयम्भू विश्वसम्पदाको भूक्षेत्रलाई समेत जोगाउने ध्येयले सामाजिक, धार्मिक, सांस्कृतिक संघसंस्थाहरू, गोन्पा, गुठी र व्यक्तिरव्यक्तित्वहरूको सम्वत् २०७७ मंसिर ५ गते स्वयम्भूस्थित मनाङ समाज सेवाको गुम्बामा बसेको भेलाले स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियान सञ्चालनकोलागि समितिपनि गठन गरेको छ ।

संयोजक आचायका अनुसार शाक्यमुनि बुद्धको जन्मभूमि नेपालमा विगतमा पनि कहिले नेपाली बौद्ध भिक्षुहरूलाई देश निकाला गर्ने, कहिले बौद्ध संस्कृति सम्पदाहरूमाथि अतिक्रमण गर्ने इतिहास निरन्तर दोहोरिरहेको स्मरण गराउँदै पछिल्लो समय विश्वसम्पदाले तोकेको स्वयम्भू परिसरको क्षेत्र नै मिचिने गरी सडक बिस्तार गर्ने कार्य धार्मिक–सांस्कृतिक सम्पदालाई सम्मान गर्न नसकेको, हातेमणि र हजार बुद्ध सहितको ७५ फिटको अग्लो विशाल बोधिचैत्य सहितको पर्खाल समेत भत्काउने लगायतको कार्य भएको छ ।

उनले धार्मिक–सांस्कृतिक सम्पदा संरक्षणविरोधी कदम अविलम्ब रोक्न सरकार र सम्बन्धित निकायसंग आग्रह गर्दै समस्या समाधानका लागि छलफल–परामर्शको आग्रह गरेको बताए ।