उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न, शतप्रतिशत मतदान

काठमाडौं, १३ मंसिर। उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको छ । जिल्ला नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेसरी न्यौपानेले जानकारी दिए।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पद सर्वाधिक महत्वपूर्ण मानिन्छ ।

महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरुमा चुनाव भएको हो ।

जिल्ला नगरमा कडा टक्कर

मतदानमा जिल्ला नगरतर्फ शतप्रतिशत मत खसेको छ । महासंघमा देशभरका १०५ वटा जिल्ला र नगर उद्योग वाणिज्य संघहरु सदस्य छन् । जिल्ला नगरतर्फ शचप्रतिशत मतदान भएको छ । महासंघको चुनावमा जिल्ला नगरतर्फको मतभार ५० प्रतिशत हुन्छ ।

जिल्ला नगरतर्फका १ जना उपाध्यक्ष पदमा महासंघको लुम्बिनी प्रदेशका अध्यक्ष गुणनिधि तिवारी र बाग्मती प्रदेशका दिनेश श्रेष्ठले भिडेका छन् । श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष र महासंघको वस्तुगत तर्फको उपाध्यक्ष भइसकेका छन् । उनी प्रधान प्यानलबाट उम्मेद्वार बनेका हुन् ।

ढकाल प्यानलबाट उम्मेदवार बनेका तिवारी पनि जिल्ला नगरमा परिचित व्यवसायी हुन् । महासंघको कार्यसमितिमा जिल्ला नगरतर्फबाट चयन हुने १८ केन्द्रीय सदस्यका लागि ३८ जना उम्मेद्वार भिडेका छन् ।