बर्दिवास घटनाको आयोगद्वारा अनुगमन
धनगढी, १० मंसिर । महोत्तरीको बर्दिवास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्याको आरोपमा पक्राउ परेका आरोपितलाई कानूनी कारबाहीको माग गर्दै स्थानीयहरूले गरेको आगजनी तथा प्रदर्शनको क्रममा प्रहरीको गोली लागी एकजनाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
आयोगले प्रदेश नं.२ कार्यालय जनकपुरबाट घटनाको स्थलगत अनुगमन गरेको हो । प्रहरीले चलाएको गोली लागी महोत्तरीको बर्दिवास नगरपालिकाका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको तथा अन्य व्यक्तिहरू घाइते भएको आयोगको प्रवक्ता तथा सहसचिब टीकाराम पोखरेलद्धारा हस्ताक्षर विज्ञप्तीमा लेखिएको छ ।
विज्ञप्तीमा भनिएको छ, महिला तथा बालबालिका उपर देशका विभिन्न भागमा हुने गरेका हिंसात्मक घटनाहरूबाट नागरिकको जीवनको अधिकारको रक्षा गर्न सुरक्षा निकाय तथा नागरिकहरू सतर्क र सचेत रहन जरूरी देखिन्छ ।
अपराधका घटनामा संलग्नहरू उपर कानून बमोजिम कारवाही गर्न, कानून हातमा लिन खोज्ने जो कोहीलाई कानूनी प्रक्रियाबाटै नियन्त्रणमा लिन, व्यक्तिको ज्यान जाने गरी बल प्रयोग नगर्न, घटनाको निष्पक्ष छानविन गरी घटनामा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन र मृतक तथा पीडितहरूलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।
साथै, कुनै पनि आपराधिक घटनामा कानूनबमोजिम कारवाही गर्ने कार्यमा नेपाल प्रहरीलाई आवश्यक सहयोग पु¥याउन, प्रदर्शनका क्रममा संयमता अपनाई विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनकारीलाई समेत आग्रह गर्दछ ।














