लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका लागि छलफल

धनगढी, ९ मंसिर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका लागि मंगलवार धनगढी उप–महानगरपालिकाले गैरसरकारी संघसंस्थाहरु संग छलफल गरेको छ ।

कोरोनाका कारण अन्य बर्षको जस्तो भिड जम्मा गरेर कार्यक्रम आयोजना गर्न नसकिने भएकाले कार्यक्रमहरुको स्वरुपहरु परिवर्तन गरिने भएको छ ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला भट्टले धनगढी उप–महानगरपालिकाका क्रियाशिल राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रतिनिधीहरुलाई बोलाएर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई कसरी सफल बनाउने भन्नेमा छलफल गरिएको बताईन ।

सबैले आफ्ना कार्यक्रमहरु प्रस्तुत गरे । उप–प्रमुख भट्टले भनिन्,‘सबैका कार्यक्रमहरुलाई कसरी एकिकृत रुपमा लैजाने भन्ने बारेमा छलफल भएको छ ।’ सबैका कार्यक्रमहरु समावेश हुनेगरी कार्यक्रमहरुको १६ दिनका लागि योजना बनाउने जिम्मा उप–महानगरपालिकालाई दिईएको छ ।

त्यसैगरी धनगढी उप–महानगरपालिकाले बुधवार ११ बजे उप–महानगरपालिकाको परिसरमा जनप्रतिनिधी, कर्मचारी र अन्य सहभागिहरुलाई सेतो रिवनको लैंगिक हिंसा विरुद्धको लोगो पहिराएर अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको पनि उप–प्रमुख भट्टले बताईन ।

यसको अगुवाई उप–महानगरपालिकाको महिला शाखाले गर्ने छ । त्यस पश्चात उप–महानगरपालिकाका महिला जनप्रतिनिधीहरुलाई लैंगिक हिंसा न्यूनिकरणका लागि सकारात्मक सोच सम्वन्धी तालिममा सहभागि गराईने छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले लैंगिक हिंसा विरुद्धको अभियान सबै वडामा पुग्नेगरी कार्यक्रम तय गरिने बताए । उनले भने, सबै सम्म सन्देश पुगोस भनेर रेडियो जिंगल, रेडियो बाट प्रत्यक्ष प्रशारणका कार्यक्रमहरु बनाउन छलफलमा सुझाव दिईयो ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर १० गते देखि २५ गते सम्म चल्ने छ । यस बर्ष नेपाल सरकारको नारा ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता, ब्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ रहेको छ ।