पेन्सन बुझ्नका लागि झुलाघाट नाका पाँच दिन खोलिने
बैतडी, ६ मंसिर । भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो होस् भनि झुलाघाट नाका पाँच दिनका लागि खोलिने भएको छ। भारतसँग सीमा जोडिएको सो नाका मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबार सम्म खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।
उनले भने ‘लामो समयदेखि पेन्सन बुझ्न नपाएका नागरिकका लागि हामीले नाका खोल्ने तयारी गरेका हौं। पेन्सनधारी नागरिकलाई पेन्सन बुझ्न सजिलो होस् भनेर दुवै देशका स्थानीय प्रशासनको सहजीकरणमा नाका खोल्ने तयारी भएको हो।’
नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए।
पेन्सनधारी नागरिकहरु कोरोनाका कारण सीमा नाका बन्द भएपछि गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन्। उनीहरुको समस्यालाई मध्यनजर गरेर नाका खोलिने भएको हो ।
नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरुले समेत आवतजावत गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए। बैतडीमा १२ सय बढी भारतीय पेन्सनधारी नागरिक रहेका छन्।













