‘थारु कलाकार पहिचानलाई भुल्नु हुन्न’
हसुलिया, २६ कार्तिक । कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले कलाकार पहिचानलाई नभुल्न अग्राह गरे ।
कैलारी गाउँपालिका–२ वनदेवी मन्दिर परिसरमा बुधबार आयोजित ‘डिया डेवारी मैगर मिलन कार्यक्रम’ मा अध्यक्ष चौधरीले कलाकार समाजमा भएका विसङ्गति, विकृतिलाई उजागर गर्ने भएकोले उनीहरु समाजको ऐना रहेको बताएका थिए ।
‘हामीले हाम्रो पहिचानलाई भुल्नु हुन्न, हाम्रो भाषा के हो, हामी को हौं, त्यसलाई बुझ्न आवश्यक छ ।’ थारु समुदायको कला, संस्कृति अझै पछाडि रहेको उल्लेख गर्दै उनले अब फड्को माड्ने विश्वास व्यक्त गरे ।
सुदूरपश्चि कलामा धनी धेरै रहे पनि कलाको पहिचान हुन नसकेको भन्दै उनले कला, संस्कृति बचाउनु सबैको धर्म रहेको अध्यक्ष चौधरीले बताए ।
थारु कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले थारु समुदाय कलाकार र कलाको हब रहेको बताए । उनले थारु गीतसंगीतको लागि कलाकारहरु सदैव तयार रहेको बताए ।
सीएस फिल्म्स् धनगढीद्वारा आयोजित कार्यक्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवा, प्रवक्ता कमलप्रसाद चौधरी, नेपाली काङ्ग्रेसका नेता राजसमझ चौधरी, थारु कलाकार तथा निर्देशक चन्द्र चौधरी चाँद, कलाकार अम्बीकाप्रसाद आचार्य थारु टेलिभिजनका पोखम चौधरी लगायतको उपस्थिति रहेको थियो ।













