कैलालीमा कम्पनीले समर्थन मूल्यमा धान खरिद गर्दै
धनगढी, २० कार्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले नेपाल सरकारबाट तोकिएको न्यूनतम् समर्थन मूल्यमा धान खरिद सुरु गरेको छ ।
कम्पनीले टीकापुरमा रहेको आफ्नै गोदाममा काँटा सञ्चालन गरि सोमबारदेखि धान खरिद कार्य सुरु गरेको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको संयोजकमा स्थानीय प्राथमिक खरिद समितिको बैठकबाट निर्णयवमोजिम किसानको धान खरिद कार्य सुरु गरेको कार्यालयका प्रमुख अनिल श्रेष्ठले जानकारी दिए ।
सरकारले मोटो धान प्रतिक्विन्टल २७ सय ३५ रुपैयाँ तोकेको थियो । तर, स्थानीय किसानले व्यापारीलाई प्रतिक्विन्टल १९ सय ५० देखि २१ सयसम्ममा बिक्री गर्दै आईरहेका छन् ।
कम्पनीले यो वर्ष ६ हजार ५०० मेक्टिक्टन (६५ हजार क्वीन्टल) धान खरिद गर्नेृ लक्ष्य राखेको छ । गत वर्ष ५० हजार क्वीन्टल धान खरिद गरेको थियो ।
सरकारले समयमै जानकारी नदिँदा बिचौलिया, व्यापारीलाई सस्तोमा धान बेच्नुपरेको भजनी नगरपालिकाका किसान रामकृष्ण चौधरीले बताए ।
‘गाउँमा कुनै पनि गल्लाले २ हजार ५० भन्दा बढी दिन मानेन ।’ चौधरी भने ‘सरकारले क्विन्टलको २७ सय ३५ तोकेर मात्र के गर्नु ? किसानले पाउने व्यापारीले तोकेको मूल्य हो ।’
यस वर्ष बाढीले धान नष्ट गर्दा उत्पादन आधा घटेको र त्यसमा पनि उचित मूल्य नपाएको उनले गुनासो गरे । धान भण्डारणको समस्या तथा धान बिक्री गरेर बिउ, मल किन्नुपर्ने बाध्यताले अधिकांश किसानले चाँडै व्यापारीलाई बिक्री गर्ने गर्छन् ।
असोजको अन्तिमतिर धान खरिदका लागि मूल्य निर्धारण भए पनि परिपत्र र जिल्लामा निर्णय नहुँदा खरिद प्रक्रियामा ढिलाइ भएको कम्पनीले बताएको छ ।













