पाँच जना जुवाडे २ लाख २३ हजार नगद सहित पक्राउ

धनगढी, १२ कात्तिक । कैलालीमा पाँच जना जुवाडे २ लाख २३ हजार नगद सहित पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिका ६ का कृष्ण बहादुर खड्काको कुखुरा फर्म भित्र तास खेलीरहेको बेला उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीले गोप्य सुचनाको आधारमा २ लाख २३ हजार ५ सय नगद सहित जुवाडहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालीका ६ बस्ने ६० बर्षका भक्त बहादुर शाही, सोही ठाउँ बस्ने बर्ष ५२ का बिर बहादुर साउँद, ४५ बर्षका डम्मर शाही, ४२ बर्षका राम बहादुर साउँद र बर्ष ३६ का रंग साउँद रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

उनीहरुको साथबाट नगद सहित २ गड्डी तास समेत फेला परेको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।