डेढ करोड बराबरको अवैध यार्सागुम्बा सहित एक जना पक्राउ
धनगढी, २ कार्तिक । दार्चुलाको महाकाली नगरपालिका-४ पुलघाट स्थित सडकबाट करिब डेढ करोड बराबरको यार्सागुम्बा सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका-३ बस्ने ३५ वर्षीय दोकार लामा १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्चागुम्बा सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागेपछि चेकजाँच गर्दा १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्चागुम्बा फेला परेको थियो । प्रहरीले उनको झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी मुकेश कुमार सिंहले बताए ।
बरामद यार्चागुम्बा सहित उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको प्रबक्ता सिंहले बताए।













