बालबिबाहले बिग्रदै बालापन : बिहेअघि सार्दै, पढाइपछि पार्दै

कानूनले बालविवाहलाई गैरकानूनी माने पनि गाउँ(समाजमा यसले निरन्तरता पाइरहँदा बालिकाको पढ्ने अधिकार मात्र खुम्चिएको छैन, विभिन्न शारीरिक, मनोवैज्ञानिक र सामाजिक समस्याका कारण उनीहरूको जीवन नै बर्बाद भइरहेको छ।

गएको वर्ष कैलालीको बर्दगोरिया गाउँपालिकाकी नानु (परिवर्तित नाम) ले १५ वर्षको उमेरमा छिमेकी गाउँका २० वर्षे युवकसँग विवाह गरिन्। उनले भागेर विवाह गरेकी थिइन्। तर, यति कम उमेरमै विवाह गर्न मन नभए पनि बाध्य बनेको उनले सुनाइन्।

कक्षा ८ मा पढ्दै गरेका बेला नानुलाई ती युवकले मनपराए, र विवाह गर्न कर गर्न थाले। उनको आमाबुवालाई युवकले विवाहका लागि फकाउने निकै कोशिश गरे, तर अभिभावक मानेनन्।

एक वर्षअघिको घटना सम्झँदै उनले भनिन्, “आमाबुवा विवाहका लागि राजी नभएपछि अनेक धम्की दिन थाल्यो। आफूसँग विवाह नगरे तेरो चरित्रमा खोट देखाइदिन्छु, फेसबूकमा बेइज्जती गरिदिन्छु भन्यो।” धाकधम्कीले डराएकी नानुले कतै उजुरी गर्ने आँट गरिनन्।

अन्ततः ‘इज्जत जाने डरले’ त्यही केटासँग २८ कात्तिक २०७६ मा भागेर विवाह गरिन्।

नानुले शिक्षालाई प्राथमिकतामा राखेकी थिइन्। विवाहपछि पनि उनको पढाइलाई निरन्तरता दिने दुवैबीच सहमति भएको थियो। तर, विवाहपछि उनी विद्यालय जान पाइनन्।

त्यही विषयमा उनीहरूबीच झगडा हुन थाल्यो। उनले पढ्न नपाए विवाह तोड्ने अडान लिइन्। त्यसपछि श्रीमान्‌को कुटपिट र सासू–ससुराको गालीगलौज सहनुपरेको उनी बताउँछिन्। शारीरिक र मानसिक यातना बढेपछि नानु घर छाडेर माइती आइन्। माइती आएको दुई महीनापछि श्रीमान् आएर माफी मागे। तर, उनी श्रीमान्‌सँग घर जान तयार भइनन्।

“सम्झौतामा पढाइ नपरेपछि माफी दिइनँ। उही बेला बेइज्जती गरिदिने धम्की विरुद्ध प्रहरीमा उजुरी गरेको भए आजको दिन आउँदैन थियो”, उनी पछुतो मान्छिन्।

बालविवाह गर्ने आफ्नो कदममा पछुतो मानेकी उनी अब भने पढाइलाई कुनै हालतमा नछोड्ने सोचमा छिन्। माइतीघरमा बसेर पढिरहेकी उनी अहिले कक्षा ९ मा पढिरहेकी छिन्। कोरोना संक्रमण महामारीका कारण विद्यालय बन्द भएको समयलाई सदुपयोग गर्दै उनी सिलाइकटाइ पनि सिकिरहेकी छिन्।

नानुको गाउँमा उनले जस्तै सानै उमेरमा विवाह गर्ने १० जनाभन्दा बढी बालिका छन्। तीमध्ये अधिकांश बालिका आमा समेत बनिसके। सानै उमेरमा विवाह गर्दा बालिकाहरू शिक्षाबाट वञ्चित हुने, प्रजनन अधिकारबारे बेखबर रहेर स्वास्थ्यमा जोखिम निम्तिने र विभिन्न शारीरिक र मानसिक समस्याको चपेटामा पर्ने गरेका छन्।

सोही गाउँकी १५ वर्षीया सुरेखा ९नाम परिवर्तन० ले पनि दुई वर्षअघि २२ वर्षीय पुरुषसँग विवाह गरेकी हुन्। कमजोर आर्थिक अवस्थाका कारण दुःखमा हुर्केकी उनले सुखले बस्न र खान पाउने आशामा १३ वर्षमै विवाह गरिन्।

तर, विवाहको दुई महीनापछि देखि नै श्रीमान्‌ले शारीरिक र मानसिक यातना दिन थाले। “असह्य भएपछि भागेर माइती गएँ, तर माइतीले सम्झाई बुझाई फेरि श्रीमान्‌को जिम्मा लगाइदिए”, उनले भनिन्।

त्यसपछि पनि श्रीमान्‌को कुटपिटको सिलसिला नरोकिएपछि सुरेखाले एक साथीसँग बह पोखिन्। उनकी साथी किशोरी समूहकी सदस्य थिइन्। उनको समस्याबारे समूहमा छलफल भयो र समूहमा आबद्ध किशोरीहरूले उनका आमाबुवालाई सम्झाए।

त्यसपछि गाउँमा छलफल भएर उनी २० वर्षको भएपछि केटाको घरमा पठाउने शर्त दुवै पक्षलाई मञ्जुर भयो। सुरेखा माइती आइन्। तर, केटाले दुई महीना नबित्दै अर्को केटीसँग विवाह गरे।

यसअघि विद्यालय नगएकी तर सामान्य साक्षर रहेकी सुरेखा किशोरी समूहकै पहलमा कक्षा ६ मा भर्ना भइन्। पढ्न पाएपछि नयाँ जिन्दगी पाएको उनी बताउँछिन्।

उक्त गाउँमा रहेको जगदम्बा भगवती माध्यमिक विद्यालयमा गठित परिवर्तनशील किशोरी समूहकी अध्यक्ष लक्ष्मी गौतमका अनुसार, पछिल्लो एक वर्षमा विद्यालयमा पढ्ने १३ जना किशोरीले १८ वर्ष नपुग्दै भागेर विवाह गरेका छन्। पछिल्लो बन्दाबन्दीकै अवधिमा १४र१५ वर्षका तीन किशोरीले भागेर विवाह गरे।

अध्यक्ष गौतम भन्छिन्, “स्कूल पढ्दापढ्दै सानै उमेरमा धेरैले विवाह गरिरहेका छन्, तर कसैले पनि बालविवाहको उजुरी हाल्दैन। अभिभावकलाई सम्झाएर छोरी फिर्ता ल्याउनुस् भन्दा उल्टै हामीमाथि आइलाग्छन्।”

कैलालीकै एक गाउँपालिकाकी एक किशोरी मुना (परिवर्तित नाम) को पनि कक्षा ९ मा पढ्ने क्रममा विद्यालयमा सँगै पढ्ने किशोरसँग प्रेम सम्बन्ध भयो। छोरीको सम्बन्धबारे थाहा पाएपछि आमाबुबाले केटालाई घरमा बोलाएर जबर्जस्ती विवाह गरिदिए।

केटाको परिवारले २० वर्ष पुगेपछि विवाह गर्ने सुझाव दिए पनि आफ्नै आमाबुवा नमानेको किशोरीले बताइन्। “बुवाआमाले मलाई बिग्रिसकेको र अरु केटाले विवाह गर्दैन भने, यो केटा धनी छ भनेर जबर्जस्ती विवाह गराइदिए”, उनले भनिन्।

विवाहपछि दुवै जनाको पढाइ छुट्यो। छोरी पनि जन्मियो। कम उमेरमा विवाह गर्दा घर–परिवार व्यवस्थापन गर्न गाह्रो परेको र तनावका कारण श्रीमान् कुलतमा फसेको उनले सुनाइन्। उनी भन्छिन्, “जसरी हामीले बालविवाह गरेर दुःख पायौं, त्यसरी कसैले पनि दुःख नपाओस्।”

समाजमै गुपचुप राख्ने प्रवृत्ति

नेपालको कानूनले विवाह गर्ने उमेर २० वर्ष पुग्नैपर्ने अनिवार्य गरेको छ भने त्यसभन्दा कम उमेरमा गरिने विवाहलाई गैरकानूनी मानेको छ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा गरिएको व्यवस्था अनुसार, २० वर्ष नपुगी भएको विवाह स्वतः बदर हुनेछ। कसैले २० वर्ष उमेर नपुगी विवाह गर्‍यो वा गरायो भने त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र ?। ३० हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। यद्यपि गाउँ–समाजमा बालविवाह रोकिन सकेको छैन।

विश्वमा नेपाल बालविवाह दर उच्च हुने देशमध्ये पर्छ। संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को सन् २०१६ को प्रतिवेदनमा नेपालमा ३७ प्रतिशत बालिकाले १८ वर्षअघि र १० प्रतिशतले १५ वर्षअघि विवाह गर्ने गरेको उल्लेख छ।

बन्दाबन्दीमा बालविवाहको दर अझ बढेको कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष भगवती डगौरा थारुले बताइन्। उनका अनुसार, बन्दाबन्दीयता मासिक १० देखि १५ वटासम्म बालविवाहको मुद्दा स्थानीय तहको न्यायिक समितिमा आउने गरेको छ। तर, गाउँपालिकाको क्षेत्राधिकारभित्र नपर्ने भएकाले इलाका प्रहरी कार्यायल सुखड पठाउने गरेको उनले बताइन्।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले भने दुई वर्ष यता बालविवाहको मुद्दा खासै दर्ता नभएको बताए। उनका अनुसार, बालविवाहको मुद्दा सबैभन्दा कम दर्ता हुने र धेरैजसो घटनामा सम्झाएर अभिभावकको जिम्मा लगाउने गरिन्छ।

गाउँघरमा बालविवाह हुँदै आए पनि परिवार र समाजले नै गुपचुप राख्दै आएका छन्। विवाह गरिसकेपछि तोडेमा सामाजिक प्रतिष्ठामा आँच आउने र बदनामी हुने डरले सामसुम पार्ने प्रवृत्तिले प्रहरीसम्म कमै पुग्ने गरेको छ। प्रहरीमा पुग्ने घटनामा पनि मिलापत्र गराउने गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा आर्थिक वर्ष २०७६/७७ मा बालविवाहको एउटा मुद्दा दर्ता भएको थियो भने २०७७/७८ को भदौ मसान्तसम्म जम्मा दुई वटा मुद्दा दर्ता भएको छ।

बर्दगोरिया गाउँपालिकाकी उपाध्यक्ष थारुको बुझाइमा किशोरीहरू आफूखुशी भागी विवाह गर्ने समस्या बाहेक अभिभावकले पनि बालविवाह गराउन जोडबल गर्ने गरेका छन्। केटाकेटीबीच मित्रता र प्रेम सम्बन्ध हुँदा अभिभावकहरूले त्यसलाई विवाहमा परिणत गरिदिने गरेको उनको तर्क छ।

बर्दगोरिया गाउँपालिकाले सामाजिक कुसंस्कारका रूपमा रहेको बालविवाह न्यूनीकरणका लागि भन्दै बाल संरक्षण समिति गठन गरेको छ। यस्तै, विभिन्न रेडियो कार्यक्रम र संघसंस्थासँगको सहकार्यमा सडक नाटक एवं जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बालविवाहका कारण बालबालिकाहरू सुरक्षित वातावरणमा पढ्ने–लेख्ने अधिकारबाट वञ्चित हुनुका साथै उनीहरूको जीवन समेत बर्बाद हुने भएकाले यस विरुद्ध स्थानीय सरकार जुट्नुपर्ने अधिकारकर्मीहरू बताउँछन्। बालविवाह अन्त्यका लागि विद्यालयको पाठ्यक्रममै यो विषय समेट्नुपर्ने तथा शिक्षक र अभिभावकहरूबीच पनि निरन्तर छलफल हुनुपर्ने उनीहरूको सुझाव छ।

महिला अधिकारकर्मी वसन्ती चौधरी पनि बालबालिकाहरूलाई सामाजिक वातावरणले पनि सानै उमेरमा विवाह गर्न बाध्य बनाइरहेको बताउँछिन्। “उमेर बढ्दै जाँदा किशोर–किशोरीबीच विपरीत लिंगीप्रति स्वाभाविक आकर्षण हुन्छ, उनीहरूबीच प्रेम सम्बन्ध पनि हुन्छ” उनले भनिन्, “समाज र परिवारले भने संकुचित दृष्टिकोण राखेर उमेरको ख्यालै नगरी विवाह गराइदिन्छ, जसको मनोवैज्ञानिक, शारीरिक र सामाजिक असर महँगो पर्न जान्छ।”