जसले हिम्मत हारेनन्
कैलाली । सामाजिक अभियन्ता बासुदेवी केही दिन अघि कैलाली अदालतका एक कर्मचारीसंग चर्को स्वरले बाझ्दै गरेको अवस्थामा भेटिइन् । उनी प्रश्न गरिरहेकी थिइन्, ‘यस्तो मुद्दामा पनि मिलापत्र गर्न पाइन्छ ? गरिवका छोरीमाथि जे पनि गर्न पाइने हो र ? दुखी गरिवले बाँच्न नपाइने हो र ?’
कैलालीकी ९ वर्षीया बलात्कृत बालिकाको न्यायका लागि उनी अदालत पुगेकी रहिछिन् । विपन्न परिवारकी बलात्कृत बालिकाको न्यायका लागि भन्दा पैसाको आडमा मुद्दा कमजोर बनाउने र पीडकलाई उन्मुक्ति दिने चलखेल भएको भन्दै उनी आक्रोस व्यक्त गरिरहेकी थिइन् । ‘पैसाले न्याय किन्न सकिने हो भने अब यसमा संलग्न सबैको पोल खोल्छु । यसमा अदालत प्रयोग नभइदेओस्’ उनको चेतावनी थियो ।
हेर्दा सामान्य व्यक्तित्व । मातृभाषासहितको नेपाली लवज । पातलो ज्यान । तर उनले ती कर्मचारीसंग बोलेका शब्द र आत्मबल भने निकै उच्चस्तरको । लाग्थ्यो केही गरेर यी बालिकाले न्यायालयबाट न्याय पाइनन् भने बासुदेवीले आफ्नो शक्ति प्रयोग गर्छिन् र उनलाई न्याय दिलाउँछिन् । बलात्कृत बालिका र न्यायप्रति उनको त्यस्तो लगाव थियो ।
विगतमा आफै हिंसामा परेर पटक पटक अदालत पसेकी छन्, बासुदेवी । आफ्नै परिवार र छिमेकीले दिएको पीडाविरुद्ध न्यायालयको ढोका ढक्ढकाएकी निरक्षर बासुदेवीमा न्यायप्रतिको प्रेम पनि यसैकारणले जुर्मुराउँदो रहेछ । र उनी अन्यायमा परेका हरेक बालिका र महिलाको लागि ज्यान दिएर लागिपर्ने रहिछिन् ।
‘न्याय खोज्न कति कठिन छ भन्ने कुरोको म स्वयं भुक्तभोगी मान्छे । सही भए पनि पीडितको पक्षमा आवाज उठाइदिने संस्कार लगभग छैन । त्यसैले पनि अन्यायमा परेका हिंसापीडितको लागि आवाज उठाउँने गरेकी छु’ बासुदेवीले भनिन्, ‘जो कमजेर हुन्छ, उसैमाथि अन्याय हुन्छ । अनि कसले साथ दिनु ? म आफैले भोगेको पीडा भुल्न र अरु पीडितको आवाज बन्न उहाँहरुलाई साथ दिने गरेकी छु ।’
को हुन् बासुदेवी ?
असारको महिना थियो । किसानहरु रोपाइँमा व्यस्त भईसकेका थिए । तर बासुको खेतमा बेर्ना खसेको थिएन । श्रीमान्संग झगडा परेर बोलचाल नभएको दुई महिना बितिसकेको थियो । उनले छोरीलाई भनिन्, ‘जा छोरी तेरो बुवालाई पल्लो घरबाट बोलाएर ल्या, बरु सानै धानको बिउ राखेर रोपौंला ।’

२०६७ असार ७ गतेका दिन, झिमझिम पानी परिरहेको थियो । बासुका श्रीमान् पटक पटक बोलाउदा पनि आएनन् । ‘पहिला त आमाछोरीले कोदालोले खन्यौं । नसकेपछि छोरीलाई जा गोरु, खोल म जोत्छु भनें । पछि मैले राम्रोसँग खेतमा किलवाई र पटेला लगाएँ’ उनले थपिन्, ‘हलो बोकेर खेतमाचाहिँ लाने गरेको भए पनि महिलालाई हलो जोत्न नदिने सामाजिक कुरीति अनुसार विगतमा हलो जोतेकी थिइनँ । एकछिनपछि त मेरै श्रीमान्सहित पूरै गाउँले आएर मलाई घेरे । कालोमोसो दले । जुत्ताको माला लगाए । गाउँ घुमाए । र अनेकथरी गाली बेइज्जती गर्दै गाउँबाट निकाला गरे ।’
हलो जोतेका कारण १० वर्षअघि आफ्नै श्रीमान् लगायत छिमेकीबाट अमानवीय भोगेकी वासुदेवीमा हलो जोत्ने आँटचाहिँ कसरी आयो त ? उनले कारण सुनाइन्, ‘गाउँमै आयोजना गरिएको महिला अधिकारसम्बन्धी एउटा तालिममा सहभागी हुँदा प्रशिक्षकलाई सोधेकी थिएँ, ‘कुनै महिलाले हलो जोत्न किन हुँदैन ? जसको घरमा पुरुष छैनन्, श्रीमान् सहयोगी छैनन् । छरछिमेकले सहयोग गर्दैनन् । अनि महिलाले के खेत बाँझै राख्नु ?’ उनको प्रश्नको जिज्ञासा मेटाउने प्रयाससहित प्रशिक्षकले जवाफ दिए, ‘कानूनले हलो जोत्ने कार्य दण्डनीय मानेको छैन । बरु महिलाले हलो जोते नराम्रो व्यवहार गर्ने समाजविरुद्ध सार्वजनिक मुद्दा लाग्छ ।’ यति सुनेपछि बासुदेवीको मुटु बलियो भयो । र असहयोगी श्रीमान् र छिमेकीलाई चुनौती दिन हलो जोतिदिइन् ।
कैलालीको गौरीगंगा नगरपालिका–४ सिप्रान टोलकी ५० वर्षीया वासुदेवी सुनार हलो जोत्नु अगाडि घरेलु हिंसाबाट पनि प्रताडित भइन् । करिब २०÷२२ पटक न्यायको लागि ईलाका प्रहरी चौकी धाईसकेकी थिईन् । त्यो दिन उनी रहरले भन्दा पनि बाध्यताले हलो जोतेकी थिइन् । तर बदलामा आफ्नै श्रीमान्सहित पूरै बस्तीबाटै सामाजिक बहिष्करणमा परिन् । सहाराविहीन भइन् र मानसिक रुपमा विक्षिप्त भइन् ।
बासुदेवीको भोगाइले भन्छ, उनी अन्यायविरुद्ध लड्नकै लगि मात्रै जन्मिएकी हुन् । २०४६ सालमा वीरबहादुर सुनारसंग बैबाहिक बन्धनमा बाँधिने क्रममा मन्डपमै दुलाहा र दुलही पक्षबीच दाईजोको कुरा लिएर कुटाकुट भयो । गाउँलेहरुको सहयोगमा मिलापत्र गरि विबाह कार्य त सम्पन्न भयो तर श्रीमान्बाट साथ र समर्थन भने कहिल्यै पाइनन् ।
बासुदेवीले पहिलो पटक २०४९ सालमा ईलाका प्रहरी कार्यालय चौमलामा घरेलु हिंसाको फाईल अगाडि बढाईन् । प्रशासनले दुबैजनालाई बोलाएर मिलापत्र गराइदियो । श्रीमान् श्रीमती कागजमा त मिले तर मन कहिल्यै मिलेन । फलस्वरुप उनी महिनपिच्छे चौकी धाउन थालिन् । ‘प्रहरीले भने लोग्ने स्वास्नीको झगडा, परालको आगो’ भन्दै मिलापत्र गरी घर पठाइदिन्थ्यो ।
३ कक्षासम्म मात्रै औपचारिक शिक्षा हासिल गरेकी उनले विभिन्न गैरसरकारी संस्थाबाट सञ्चालित महिला सशक्तिकरण परियोजनाबाट प्रौढ शिक्षा लिँदै आएको बताईन् । प्रौढ कक्षासँगै उनले बालविवाह, बहुविवाह, चेलिबेटी बेचबिखन रोकथाम सम्बन्धी कक्षा लिएकी थिइन् । त्यही अभियान गाउँमा सञ्चालन गर्न खोजेको थिईन् ।
त्यही समयमा हलो काण्ड भयो । गाउँलेले अनुहारभरी कालोमोसो र गलामा जुत्ताको माला भिराइदिएर गाउँ निकाला गरेपछि कहाँ जाने कुनै अत्तोपत्तो थिएन । तर त्यही दिन उनले आफूलाई तालिम दिएको धनगढीस्थित ओरेक कैलाली घटनाबारे जानकारी दिइन् । ओरेकले घटनाबारे प्रहरीसहित सबै सरोकारवाला निकायलाई खबर गरेपछि उनी त्यही दिन प्रहरीको सहयोगमा सदरमुकाम धनगढी पुगिन् । र छोरीसहित ओेरेक नेपालको सुरक्षित आवास गृहमा बस्न थालिन् ।
सुरक्षित आवास गृहको बसाईको क्रममा उनले कानूनी उपचारको बाटो खोजिन् । जिल्ला कानूनी सहायता समिति कैलालीका प्रमुख तथा अधिवक्ता देवीलाल चौधरीमार्फत जिल्ला अदालत कैलालीमा घरेलु हिंसा (कसूर सजाय) ऐन अन्तर्गत आफ्नै श्रीमान् वीरबहादुर सुनार र १२ जना छिमेकीविरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर गरिन् ।
अदालतको २०६७ फागुन २३ गतेको फैसलाले उनका श्रीमान्लाई ६ महिना कैद र २१ हजार जरिवाना भयो भने अन्यलाई जनही १०–१० हजार जरिवाना गरायो ।
हलो जोतेकै दिनदेखि उनी श्रीमान्संग अलग बस्न थलिन् । मुद्दा फैसला भएपछि आर्थिक जोहो गर्न भारतको पञ्जाब पुगिन् । चार वर्ष उतै बिताईन् । फर्केर आउँदा समेत श्रीमान्ले स्वीकारेनन् । तर उनले हार मानिन् । उनले भनिन् ‘१० वर्ष पछि २०७६ असोज महिनामा श्रीमान मसंग माफी माग्न आए । माफी पनि दिएँ । चार महिना राम्रोसंग बिते । तर खै किन हो, श्रीमान्ले माघ ३ गते घरमै आत्महत्या गरे ।’
सत्य लुकाउन र गलतका अगाडि झुक्न नजानेकी उनै वासुदेवी आजभोलि त्यसै समाज सुधारको अभियानमा जुटेकी छिन् । आफैंमाथि कालोमोसो खन्याउने गाउँलेसँग हातेमालो गरी विकास निर्माण र न्यायको लागि बुलन्द आवाज उठाइरहेकी छन् ।
समाजबाटै अपहेलित भएकी वासुदेवी आफ्नो विचारबाट भने कतै पनि विचलित भएकी छैनन् । बरु आफैंलाई निकाला गर्ने समाज बदल्ने अभियानमा जुटेकी छिन् । पहिल्यैदेखि समाज सुधारको बाटोमा अग्रसर उनी हाल पनि निरन्तर क्रियाशील छिन् ।

यस्तै गौरीगंगा नगरपालिका वडा नं. १ की १९ वर्षीया प्रमिला नेपालीले पनि बाँच्नका लागि धेरै संघर्ष गर्नुपर्यो । पाँच वर्षको हुदा बुवा गुमाएकी नेपाली भन्छिन् ‘आर्थिकरुपले एकदमै विपन्न परिवारमा आमाले एक्लै हामीलाई हुर्काउनुभयो । बुवाको अनुहार कस्तो थियो थाहा पाईन, तस्वीर हेरेर चित्त बुझाउँछु । सानो छँदा अरुले दिएका कपडा लगाएर हुर्केँ । कान्छो दाइले सानैदेखि मजदुरी गरेर मलाई पढाए ।’
प्रमिलाका दाजुबहिनीलाई आमाले जहिले पनि ठूलो मान्छे बन्न, नाम कमाउन भन्थिन् । आमाले दुःख गरी आफूहरुलाई हुर्काएको देखेकी उनमा पनि आमाको इच्छा पूरा गर्ने सपना थियो । त्यही सपना साकार पार्न उनी बाटो खोज्न थालेकी थिइन् ।
२०७३ सालमा गाउँमा प्रगति किशोरी समूह गठन भयो । त्यो समूहमा उनले पनि आवद्ध हुने अवसर पाइन् । र अरुसंग कसरी बोल्ने ? आफ्ना कुरा कसरी राख्ने ? न्याय के हो ? भन्ने बुझ्ने मौका पाइन् । विस्तारै विस्तारै उनी बोल्न सिक्न थालिन् । हिजोका दिनमा अरुसंग बोल्न डराउने, लजाउने उनमा आत्मविश्वास बढ्दै गयो । उनी अहिले किशोरी समूहको अध्यक्ष हुन् ।
समूहमा बस्दा उनले धेरै अवसर पाईन् । तालिम, गोष्ठी, सडक नाटकजस्ता कार्यक्रमहरु पनि आफै सञ्चालन गर्न थालेपछि नगरपालिकाले थोरै थोरै बजेट विनियोजन गरि छाउपडी पर्था, महिला हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम दिइरहेको छ ।
गौरीगंगा नगरपालिका वडा नं. ११ का २४ वर्षीय प्रेम चौधरीले मजदुरी गरेरै स्नातक तहसम्मको पढाई गरे । विभिन्न आरोह अवरोहका बाबजुत २०७३ सालमा प्लान इन्टर नेश्नल नेपालको आर्थिकमा ओरेक नेपालद्वारा सञ्चालित बालिका पैरवी परियोजना अन्तगर्तग गठन गरिएको प्रगतिशील नगर स्तरीय यूवा सञ्जालमा काम गर्ने मौका पाए । सोही दिनदेखि उनी सामाजिक अभियन्ताको रुपमा क्रियाशील छन् ।
उनी अहिले सूचना डेक्सबाट पालिकाका विभिन्न सूचनाहरु सेवाग्राहीसम्म पुर्याउने काम गरिरहेका छन् । पछिल्लो अवस्थामा पालिकाले यूवाहरुको सक्रियतालाई मध्यनजर गरि भौतिक निर्माणका योजनाहरुमा यूवाहरुले नै जिम्मेबारी पाएको चौधरीले बताए ।

परियोजना अन्तरगत रहेर थुपै्रखालका महिला तथा किशोरी हिंसाविरुद्ध काम गरेको अनुभव प्रेमले सुनाए । हिंसाविरोधी अभियानमा सक्रिय भएपछि आफूलाई हेर्ने समाजको दृष्टिकोण नै परिवर्तन भएको उनको बुझाई छ । हाल प्रेमले दुईवर्षदेखि गाउँको भलमन्साको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । उनले भने, ‘लैंगिक हिंसाविरुद्ध युवाले अग्रसर हुन जरुरी छ । यो महिलाको मात्रै मुद्दा हुँदै होइन ।’
महिला अधिकारकर्मी गोमा आचार्य लैंगिक हिंसाबाट प्रभावितहरुको न्याय र संरक्षणका लागि ओरेक नेपालले गरेको कामको खुलेर प्रशंसा गरिन् । घरेलु हिंसा, बलात्कार लगायत महिला तथा बालिकामाथि कुनै खालका हिंसा हुँदा ओरेक कैलालीले नागरिक समाज, पत्रकार र प्रहरी प्रशासनसंग समन्वय र सहकार्य गरेर सेवा दिईरहेको छ ।
उनीहरुले आफ्नै परिवार र समजसंग कानुनी लडाइँ लड्नु पर्ने र त्यस क्रममा घरमा बस्ने अवस्था नहुँदा ओरेकले सुरक्षित आवास गृहमा राख्ने गरेको बताइन् । ‘हाम्रो सम्पर्कमा आउने सहाराविहीन पीडितलाई राख्ने अन्त कुनै ठाउँ छैन । त्यसो हुँदा त्यो आवास गृह वरदान सावित भएको छ’ उनले सुनाइन् ।
सेफ हाउसको सेवा राम्रो छ । बेला बेला महिला अधिकारकर्मी लगायत स्थानीय सरकारका प्रतिनिधि, गैरसरकारी संघसंस्थाको उपस्थितिमा अनुगमन पनि भईरहेको छ ।
समाज पीडकमैत्री रहेकोले पीडितको संरक्षण हुन नसकेका कारण पछिल्लो अवस्थामा धेरै मुद्दाहरु होस्टाईल पनि भईरहेको आर्चायले गुनासो गरिन् ।
यस्तै अन्तर धार्मिक सञ्जालका सचिब दुखीराम चौधरीले पछिल्लो अवस्थामा विभिन्न धर्ममा आवद्ध धर्मगुरुहरु सामाजिक अभियन्ता भएर काम गरिरहेको बताए । उनका अनुसार छाउपडी, बालविवाह, बोक्सी प्रथा विरुद्ध सबै एकजुट भएर अवाज उठाईरहेका छन् । साथै धर्मगुरुहरुले अन्तर धार्मिक सञ्जालमा आवद्ध भएपछि मठमन्दिरमा उमेर नपुगेका केटाकेटीहरु विबाह गर्न आउँदा सम्झाई बुझाई फर्काउने गरेको बताए ।
चौधरीले धर्मग्रन्थ वा बाईबलमा हानीकारक परम्परागत अभ्यास जस्ता कुप्रथाहरु कहि कतैपनि उल्लेख नभएको भन्दै समुदाय स्तरमै जनचेतना मूलक अभियानहरु चलाईरहेको बताए ।













