बझाङ हत्याकाण्ड : पोस्टमार्टम रिपोर्टले के भन्छ ?

बझाङ, ११ असोज । गत बुधबार मन्दिरभित्र मृत अवस्थामा भेटिएकी १२ वर्षे बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ खिकालाकी १२ बर्षिया बालिका पोष्टमार्टम रिर्पोटमा हत्या भएको बताइएको छ । जिल्ला अस्पताल बझाङले तयार गरेको पोस्टमार्टम प्रतिवेदनले बलात्कारपछि हत्या भएको पुष्टि गरेको हो ।

‘यौनांगमा भित्री र बाहिरी चोटहरू रहेको भनेर पोस्टमार्टम रिपोर्टमा लेखिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘टाउको, अनुहार, पिठ्उँलगायत शरीरका विभिन्न ठाउँमा चोटपटक देखिएको रिपोर्टमा उल्लेख छ । बाहिरी चोटहरूले प्रतिकार गर्ने क्रममा लागेको देखिन्छ ।’ बालिका असोज ७ गते घरबाट गाईबस्तुलाई घाँस दिन गएको बेला घटना भएको थियो ।

रिर्पोटमा कलेजो च्यातिएको देखाएको छ । कलेजोको दुई ठाउँमा ठुल्ठूला घाउ रहेको र त्यसैका कारण मृत्यु भएको रिपोर्टमा उल्लेख गरेको प्रहरी स्रोतले बतायो । कलेजोको चोट उनलाई हत्याराले हिर्काउँदा लागेको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला अस्पताल बझाङले पोस्टमार्टम रिपोर्ट शनिबार जिल्ला प्रहरी कार्यालयमा बुझाएको ।