राहतले खुशी भए बाढी प्रभावित

धनगढी ८, असोज– साउन १६ पछि आएको बाढीले घरमा क्षति पुराएपछि कैलालीको कैलारी गाउँपालिका ८ का धेरै परिवार चिन्तामा थिए । बाढीले कसैको घर भट्कियो, त कसैको अन्न बग्यो ।

सोही बाढीले कैलारी गाउँपालिका वडा नं. ८ लौसाका चमेली चौधरी पनि निकै चिन्तामा थिइन् । उनलाई कहिले घर भत्किन्छ भन्ने चिन्ता छ । ड्राफ्ट परियोजना अन्तर्गत उनले ८ हजार ९ सय रुपैयाँ पाएपछि समस्या समाधान हुने अपेक्षा व्यक्त गरिन् । ‘अब घर बन्ने आशा पलायो’ उनले भनिन्, ‘यसले घर मर्मत गर्छु।’

कैलारी गाउँपालिकाका कि सिता चौधरीको घरमा पनि बाढीले क्षति पुगेको छ । उनले भण्डारण गरेर राखेको धान पनि जोगाउन पाइनन् । घरको भित्ता भत्कियो । ‘ज्यानै जोगाउन समस्या भइरहेको बोला अरू जोगाउन पाइएन’ उनले भनिन् ‘सधैँ यस्तै समस्या आइरहन्छ ।’

बिहीबार डेनमार्कको गैरसरकारी संस्था डिसिएको सहयोगमा दलित महिला अधिकार मञ्च नेपाल (डिडब्लुआरएफ) ले ८ हजार ९ सय रुपैयाँ हातमा थमाइदिँदा उनीहरु हर्षित थिए । ‘यो पैसाले भत्किनै लागेको घर बनाउँछु’ उनले भनिन् ‘खाद्यान्न पनि खरिद गर्नु छ ।’

बिहीबार कैलारी गाउँपालिका ७ र ८ का १५० जनाले खाद्यान्न र घर मर्मतको लागि भन्दै प्रति व्यक्ति ८ हजार ९ सय रुपैयाँ पाएका हुन् । उक्त रकमले उनीहरुलाई केही सहजता हुनेछ ।

बाढी प्रभावित क्षेत्रका नागरिकलाई रकम हस्तान्तरण गर्दै कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले पाएको रकमको दुरुपयोग नगर्न आग्रह गरेका थिए । उनले जुन परियोजनको लागि रकम पाएको हो त्यहिमा खर्च गर्न अनुरोध गरे ।

कैलारी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष दुखिराम कठिरियाले आफ्नो क्षेत्रमा बाढीको निकै ठुलो समस्या रहेको बताए । उनले सहयोग स्वरूप आएको रकमलाई सदुपयोग गर्न सबैलाई आग्रह गरे ।

(डिडब्लुआरएफ) कैलालीका अध्यक्ष साबित्रा घिमिरेले डिसिएको आर्थिक सहयोगमा ड्राफ्ट परियोजना अन्तर्गत बाढी प्रभावित नागरिकलाई रकम हस्तान्तरण गरिएको बताइन् ।

सरसफाइ कार्यक्रम अन्तर्गत १५० घरलाई नयाँ धार र पानी सुद्धिकरणको कार्यक्रम र १ सय महिला तथा सुत्केरी र गर्भवतीहरुलाई हाइजिङ किट दिने योजना रहेको जानकारी दिइन् ।