मानसिक समस्याले परिचय नै गुमनाम बनाइदिएकाहरुलाई सहारा घरको प्रेम

कैलाली, ८ असोज । समाजवाट पागल भनेर चिनिने मानसिक स्वास्थ्य समस्या भएकाहरू सहारा घरमा आश्रय लिइ आ–आफ्नै सुरमा मग्न हुन स्वतन्त्र छन्। कोही गीत गाइरहेका हुन्छन्, कोही पानीसँग खेलिरहेका। कोही हिसाबकिताबमा व्यस्त त, कोही भाषणमा। बाहिरबाट जानेहरुका लागि यो दृश्य देख्दा अजीव लाग्छ। यसैलाई सामान्य बनाउन सहारा घरको सञ्चालक बलबहादुर विष्ट दिनरात सहारा घरमा खटिएर अभिभावकको भूमिका निर्वाह गर्दैछन् ।

‘सहारा घर’ कैलालीको बर्दगोरिया गाउँपालिकाको चुरे फेदीमा रहेको धार्मिक पर्यटक वनको पूर्वी कुनामा अवस्थित छ। सडकमा भेटिएका मानसिक रोगीलाई सहारा दिने उद्देश्यले बलबहादुर विष्टले पाँच वर्षयता यो संस्था सञ्चालन गरिरहेका छन्।

वरपरि चार कठ्ठा फराकिलो जमीनमा तारबारले घेरिएको छ। चारकोठे पक्की घर छ । त्यसको छेउमै जस्ताले छाएको टहरो छ। यही दुनियाँ मानसिक स्वास्थ्य समस्या भएका धेरै जनालाई सहारा दिने घर हो। जहाँ अहिले ८९ जनाले आश्रय पाइरहेका छन्। जसमध्ये ६० जना पुरुष, २५ महिला र चार बालबालिका छन्। यहाँ बस्नेहरूलाई रुचि अनुसार नाच्ने, खेल्ने जस्ता गतिविधि सिकाउने पनि गरिन्छ।

सडकमा भौतारिंदै फोहोरमा सुत्ने र सडेगलेको खाने अवस्थामा रहेकाहरूलाई सहारा घरको ओत दिन पाएकोमा सञ्चालक विष्ट सन्तोष मान्छन्। उनी भन्छन्, ‘सडक–मानव हुँदा हिजोसम्म उनीहरूलाई सबैले पागल भन्थे र छिछि दूरदूर गर्थे, आज उनीहरूको जिउने शैली फेरिएको छ। यो मेरो लागि आनन्दको कुरा हो।’

डिप्रेसनलाई जितेर सहाराको हात

विष्टले पेशागत र रहरको काम गर्ने क्रममा विभिन्न समयमा विविध क्षेत्रको अनुभव बटुले। पत्रकारदेखि कलाकार, खेलाडी, स्वास्थ्यकर्मीसम्मको भूमिकामा काम गरे पनि सन्तुष्टि पाउन नसकेको सुनाए। ‘अहिले बेसहाराहरुको सेवामा समर्पित हुँदा भने असाध्यै आनन्दित महसुस भइरहेको छु’, उनी भन्छन्।

बिचल्लीमा परेका, मानसिक रोगी लगायतलाई सहाराको हात दिएका विष्ट कुनै वेला आफूले पनि मानसिक स्वास्थ्य समस्यामा परेका थिए। उनी डिप्रेसनको बिरामी भएका थिए। तर, समयमै परिवारको हेरचाह र प्रेम पाएर उनी त्यसबाट पार पाउन सफल भए। ‘परिवारको माया नपाएको भए म पनि सडकमा निस्किन्थें होला’, उनी भन्छन्, ‘यस्तो अवस्थामा सबैभन्दा राम्रो उपचार नै माया–प्रेम हुँदो रहेछ।’

डिप्रेसनलाई जितेपछि उनी सबै रहरका काम छोडेर स्वास्थ्य क्षेत्रमा केन्द्रित भए। फार्मेसी पढेका उनी कैलालीको बौनिया बजारमा क्लिनिक खोलेर बसे।

२०७० सालमा उनले सडक जीवन बिताउँदै आएका एक मानसिक रोगी वृद्धलाई देखे, जसको खुट्टाभरि घाउ थियो र घाउमा कीरा परेको थियो। वृद्धलाई सडकबाट क्लिनिकमा ल्याएर उपचार गरेपछि त्यही ठाउँमा पु¥याएर छाडिदिए। तर, उनलाई त्यो रातभरि निद्रा लागेन। बिहानै उठेर ती वृद्धलाई खोजेर घरमै ल्याएर राखे।

विष्टले त्यसको केही दिनपछि कैलालीको लम्की सडकबाट मानसिक सन्तुलन गुमाएका एक युवकलाई पनि घरमा ल्याए। बैतडी जिल्लाको पुचौडी नगरपालिका– ८ का ३५ वर्षीय महेश कुँवर घरायसी तनावका कारण मानसिक सन्तुलन गुमाएपछि सडकमा भौतारिंदै कैयौं दिनको यात्रापछि लम्की पुगेका थिए।

समय बित्दै जाँदा उनले घरमै आश्रय दिएर राख्नेको संख्या बढ्दै गयो। त्यसपछि छिमेकीबाट नराम्रो टीका–टिप्पणी सुन्नेदेखि घरमा ठाउँ साँगुरो भएपछि छुट्टै ठाउँ खोज्न बाध्य भएको उनी बताउँछन्।

विष्ट २०७२ सालमा सहारा घर नामको संस्था दर्ता गरे। त्यसपछि विभिन्न सहयोगी र दाताहरूको सहयोगमा २०७४ मंसीरमा टहरो निर्माण गरेर मानसिक रोगीहरूलाई राख्न थाले। बिरामीलाई उचित सुविधासहित राख्नुका साथै उपचार पनि गरिन्छ। उनीहरूको उपचारमा विष्टलाई हेल्थ असिस्टेन्ट (एचए) र नर्सिङ पढेकी श्रीमती लक्ष्मी पौडेलले सघाउँछिन्।

‘सहारा घरमा बस्ने हरेक व्यक्तिको आफ्नै विगत र छुट्टै कथा छ, तर कतिपय आफ्नो नामबारे नै बेखबर छन्। सहारा घरमा आएपछि सबैले बस्ने छानासँगै नाम पनि पाएका छन्। उनीहरूको स्वभाव, हाउभाउ आदि हेरेर नाम राख्ने गरिएको छ। शान्त स्वभाव भएकोलाई शान्ति, संस्थामा आएपछि छिटो निको भएकालाई आशाराम, मुस्काइरहनेलाई मुस्कान जस्ता नामले सम्बोधन गरिन्छ।

समाजले पागल भनेर परिचय नै गुमनाम बनाइदिएका व्यक्तिलाई संस्थाले प्रेमको औषधि दिएर प्रेमपूर्वक नै नाम दिएको विष्ट बताउँछन्।
उनका अनुसार, उद्धारको काम शुरू गरेयता सहारा घरको हेरचाह र माया पाएर ८८ जना निको भई पूर्ववत् सामान्य अवस्थामा फर्किएर परिवारसँग पुनर्मिलन भएको छ। जसमध्ये केही व्यक्ति संस्थामै सेवारत छन्।

पुनर्जीवनपछि संस्थामै सेवा दिंदै

मानसिक तनावका कारण सडक–मानव बन्दै सहारा घरमा पुगेपछि महेश कुँवर पूर्णरूपमा सञ्चो भइसकेका छन्। नयाँ जीवन पाएपछि अहिले संस्थामै आफू जस्तै समस्यामा परेकाहरूको सेवामा जुटिरहेको उनी बताउँछन्।

सहारा घरको व्यवस्थापकीय इञ्चार्ज कुँवर भन्छन्, ‘म माया र स्नेह पाएरै सञ्चो भएको हुँ। अहिले म जस्तै मानसिक सन्तुलन गुमाएर सहाराविहीन भएकाहरुको स्याहारसुसारमा खटिन पाउँदा बडो आनन्द लाग्छ।’ आफ्नो लागि सहारा घरका सञ्चालक विष्ट भगवान् नै रहेको उनी बताउँछन्।

कैलालीको लम्कीचुहा नगरपालिका–१ थकालीपुरकी सुनिता (शान्ति) पनि मानसिक सन्तुलन गुमाएर सडकको जीवनमा आएकी थिइन्। बौनिया प्रहरीले सहारा घरमा पु¥याएपछि सञ्चो भएकी उनी संस्थामा भान्साको काम हेर्छिन्।

महेश कुँवर पहिले र अहिले ।

दुई छोरा र दुई छोरीकी आमा उनलाई करीब १२ वर्ष अघिदेखि मानसिक रोगले सताएको थियो। निको भएर संस्था मार्फत धेरैलाई सेवाको मल्हम लगाउँदा रमाइरहेकी उनी भन्छिन्, ‘यहाँबाट मेरो माइतीघर नजिकै पर्छ, तर जान मन लाग्दैन।’

यी दुईसहित संस्थाभित्रका ६ जना व्यक्ति निको भएर यहीं विभिन्न भूमिकामा सेवा दिइरहेका छन्। जसमध्ये दुई जना भान्सामा, एक जना सुरक्षागार्ड र अन्यले व्यवस्थापनको काम हेर्छन्। यस्तै, बाहिरबाट ६ जना स्वयंसेवक आएर खट्ने गर्छन्। यहाँ बस्नेलाई योग पनि सिकाउने गरिन्छ।

सहारा घरमा कठिन स्वास्थ्य अवस्थाका बिरामी पनि आइपुग्छन्। आफूले उद्धार र सहयोगको काम शुरु गरेयताको सात वर्षमा १२ जनाको मृत्यु भएको सञ्चालक विष्ट बताउँछन्। ‘सहारा घर’ भएको ठाउँमा जाने बाटोको राम्रो सुविधा छैन। यस्तै, एम्बुलेन्स सेवा नहुँदा गम्भीर बिरामीलाई अस्पताल पु¥याउन कठिन हुने गरेको उनको भनाइ छ।

क्षमताभन्दा बढी हुँदा गाह्रो

सहारा घरको बारेमा प्रचारप्रसार बढेसँगै यहाँ बेसहाराहरू ल्याएर राखिदिने क्रम पनि बढेको छ। जसका कारण यहाँको भौतिक संरचनाको क्षमताले थेग्न गाह्रो भएको सञ्चालक विष्ट बताउँछन्।

‘बेसहाराहरू थपिएकै थपियै गर्दा खासगरी सुत्नलाई खाट र ओढ्ने–बिछ्याउनेको अभाव भएको छ। सुत्केरी, बालबालिका, अशक्त वृद्धवृद्धालाई खाटमा र बाँकीलाई भुइँमै सुताउनुपरेको छ।’ व्यक्ति र समुदायले मात्र होइन, सडकका बेसहाराहरूलाई सरकारी निकायले पनि यहीं ल्याएर जिम्मा लगाउने गरेको छ। जसका कारण संस्थालाई व्यवस्थापन गर्न गाह्रो भएको छ।

‘सरकारी निकायले यहाँसम्म ल्याइदिन्छन्, तर व्यवस्थापन कस्तो छ भनेर कहिल्यै हेर्दैनन्’, उनी भन्छन्, ‘बेसहाराहरू थपिएकै थपियै गर्दा खासगरी सुत्नलाई खाट र ओढ्ने–बिछ्याउनेको अभाव भएको छ। सुत्केरी, बालबालिका, अशक्त वृद्धवृद्धालाई खाटमा र बाँकीलाई भुइँमै सुताउनुपरेको छ।’

गर्मी मौसममा जसोतसो सुते पनि अब जाडो याममा कसरी व्यवस्थापन गर्ने भनेर उनलाई चिन्ताले सताएको छ। सहारा दिन खाना खुवाएर मात्र नहुने, उचित सुविधा दिएर आधारभूत आवश्यकता पूरा गर्नुपर्नेमा उनी सजग छन्।

अहिले सहारा घर सहयोगी दाताहरुबाट जन्मदिन, विवाहको वर्षगाँठ, श्राद्धको अवसरमा प्राप्त हुने सहयोगबाट चल्ने गरेको छ। तर, सहयोगले मात्र चल्न गाह्रो परेको भन्दै व्यवस्थापनको काम सरकारले गर्नुपर्ने उनी बताउँछन्।

‘दानको भरमा संस्था चलाउन सकिंदैन। यदि सरकारले जिम्मा लियो भने म जीवनभर निःशुल्क सेवा गर्न तयार छु’, विष्ट भन्छन्।