कालो पट्टी बाँधेर पत्रकारहरुले दिए प्रशासन अगाडी धर्ना

धनगढी, १ असोज । सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै पत्रकारहरु कालो पट्टी बाँधेर प्रशासन अगाडी धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघ कैलालीले घोषणा गरेको दोस्रो चरणको आन्दोलन अन्तरगत पत्रकारहरुले टाउको र हातमा कालो पट्टी बाँधेर धर्ना दिएका हुन्।

कैलालीमा प्रेस स्वतन्त्रता हननका घटना दिन प्रतिदिन बढ्ना थालेपछि घटनामा संलग्न दोषीलाई कानूनी कारवाहीको माग गरेका हुन् ।

समाचारको विषयलाई लिएर गत शुक्रवार धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरेर एक समूहले समाचार कक्षमै पत्रकारलाई कुटपिट गर्नुका साथै कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेको थियो।

आक्रमणमा संलग्नलाई पक्राउ गरी कारवाही गर्नुपर्ने माग गर्दै पत्रकार महासंघ कैलालीको अगुवाईमा आन्दोलनका कार्यक्रम जारी राखिएको छ। आन्दोलन अन्तरगत भोली पनि जिल्ला प्रशासन कार्यालय अगाडी सञ्चार सामाग्री सहित धर्ना र प्रर्दशन गर्ने कार्यक्रम तय भएको पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले बताए।

सञ्चारमाध्यममा आक्रमण गर्ने मध्येका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दिनेश सञ्चारगृहले सार्वजनिक हित विरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालयमा शुक्रवार नै जाहेरी दिएको थियो।