नागरिकता नहुँदा समाज र सरकारबाटै उपेक्षा
कैलाली, १ असोज । सानै उमेरमा विवाह गरेर निकै पछुटो लाग्छ ।’ गौरीगंगा नगरपालिका वडा नं. ८ का २२ वर्षीया विमला कुमारी भाटको पीडा हो । उनी १५ वर्षकै उमेरमा भागी विबाह गरेको सुनाईन् । उमेर नपुगि विबाह गर्दा निकै दुख भोग्नु पर्छ भन्ने अनुभव छ ।
उनी भनिन् श्रीमानले संगै मर्ने संगै बाँच्ने बाचा गरेको ७ वर्ष भयो । ४ वर्षको छोरापनि छ, तर सिंदुरपोटे भने भएको छैन ।’ भागेर आएको ३ वर्ष सम्म परिवारका सबैले माया गर्थे । बच्चा पाउने भएपछि दुखका दिन शुरु भयो ।
उनको घरमा सासु ससुरा, जेठाजु जेठानी र अमाजु सहित आफू श्रीमान र छोरा छन् । श्रीमान कामको शीलशीलामा प्रया भारत तिरै बस्ने गरेको सुनाईन् । उनी गर्भवति भएको बेलादेखि हाल सम्म ससुराको कुटाई खादै आईरहेकी छिन् ।
परिवारले उनको विबाह दर्ता गरिदिएन । विबाह दर्तासंगै नागरिकता चाहियो भन्दा श्रीमानपनि आमा बुवाको कुरा सुनेर हेला गर्न थालेको विमलाको भनाई छ । उनलाई सासु ससुरा, जेठाजु, जेठानी सबैले हेला गर्छन् । नगरिकता नभएको कारण उनी सरकारबाट कुनैपनि सेवा सुविधा लिन पाएका छैनन् ।
उनलाई जेठाजु र सासुराले पटक पटक पिट्न थालेपछि उनी न्याय खोज्न बाध्य भएको सुनाईन् । साढे ३ वर्ष हिंसा, दुरव्यवहार, अपमान सहेर बसेको उनी सहन नसेकेर गत असार तेस्रो साता ईलाका प्रहरी कार्यालय राजीपुर चौकी पुगेका थिईन् ।
उनले भनिन् ‘श्रीमान इन्डिया हुँदा पनि सासु ससुराले जहिले कुरा लगाई दिने, अपमानित शब्द प्रयोग गर्दै त्यसलाई छोड्दे अर्को निको जोई खोजिदिउँला । फोन गरेर मेरै सामुन्ने यस्ता कुरा लगाउथे । अनि श्रीमानले पनि फोनमा उल्टै मलाई लागी गर्थे ।’ कोरोना महामारीले श्रीमान बैशाखमा घर आए । व्यवहार पनि राम्रै थियो । तर सासुलाई भने हाम्रो माया अपाच्य भयो । ससुराले मलाई गाली गर्दै कुट्न थाले । श्रीमानले बुवा आमासंग छुट्टिएर बस्ने निर्णय लिएको बताईन् ।
श्रीमानले ग्यास चामाल कपडा सबै किनेर ल्याई दिए । केही दिन संगै बस्यो । हप्ता दिनपछि श्रीमानपनि पिट्न थाल्यो । उनी शुरुमा ओरेक कैलालीको एक कर्मचारीको घर गएर न्यायको बारेमा सल्लाह मागिन् । उनकै सहयोगमा ईलाका प्रहरी कार्यालय पुगि महिला हिंसा भएको उजुरी हालिन ।
उजुरी पश्चात असार २४ गते बन्दाबन्दी खुल्ने वित्तिकै नागरिकता र विबाह दर्ता बनाई दिने सहमति भयो । तर श्रीमानले निर्णयको कार्यन्वय गरेरन् । अहिले त वास्ता पनि गर्न छोडिसकेको उनको गुनासो छ । उनी अहिले एक्लै छिन् । श्रीमान छोरा लिएर आमा बुवासंग बस्न थाले ।
कहिले काँहि एकदमै डरपनि लाग्छ नागरिकता र विबाह दर्ता छैन । न्याय पाउँदिन भनेर । ‘यतिका वर्ष नगारिकता नभएर सरकारको हरेक सेवा सुविधाबाट बञ्चित छु । नागरिकता पाएको दिन युद्व जितेको अनुभूति हुन्छ ।’
धर्मपुत्र संस्कारले जीवन नै बर्बाद
सानैमा आमा बुवाको मृत्यू भएपछि बेसाहारा बनेका गौरीगंगा नगरपालिका १० स्थित ४२ वर्षीय सिताराम चौधरी हालसम्म नागरिकता बिहिन छन् । उनका श्रीमति निलम चौधरी बिबाह दर्ता र नागरिकता नभएको कारण जिवनमा थुप्रै बाधा आईपर्ने बताउछिन् । उनका दुई छोरी र छोराको जन्मदर्ता समेत बन्न सकेको छैन । दुबै छोरी बिबाह गरिसकेका छन् भने छोरा अहिले १९ वर्षको पुगेको छ ।
उनको जन्म दिने बुवा खुशीराम डगौरा २०३७ जेठ २५ गते र आमा बिसरीदेबी थरुनी २०३९ भदौं ३१ गतेका दिन मृत्यू भएको थियो । आमा बुवाको मृत्यू पश्चात कैलारी गाउँपालिका वडा नं. ३ उत्तर भडु्री का स्व. राजाराम चौधरीको घरमा उनी कमैया बसेका थिए ।
सिताराम १४ वर्षको हुदाँ मालिक स्व. राजारामले आफ्नै साथी सोचन चौधरीलाई धर्मपुत्र बनाउन दिएको थिए । जुनबेला सोही ठाउँको पार्वति चौधरी लगायत अन्य तीन जना साक्षी बसेको सिताराम बताउँछन् ।
साविक उदासीपुर गाविसमा कागज गरि धर्मपुत्र बसेका उनी सशस्त्र द्धन्द्धको बेला उक्त गाविसमा आगो लागेर सबै प्रमाण नष्ट भएको सितारामको भनाई छ । उनी नागरिकताकोलागि बुवा मान्दै आएका सोचनलाई धेरै पटक आग्रह समेत गरिसके, तर सोचनले अंश दिने डरले नागरिकता नबाईदिएको बताए ।
सोचनको पहिलैदेखि दुई छोरी र एक अपांगता भएका छोरा थिए । अहिले सबै सम्पत्ति आफ्नो दुई छोरीको नाममा गरिसकेका छन् । सोचनले नागरिकता नबनाई दिएपछि उनी आफूले जन्म दिने आमा बुवाको मृत्यू दर्ता प्रमाण पत्र पेश गरि नागरिकताको लागि २०७५ मंसिर १६ गते सिफारिस पनि लिएको बताए । तर जिल्ला प्रसाशन कार्यालय कैलालीले भने उनलाई फिर्ता पठाइ दिएको छ ।
सिताराम भन्छन् ‘मलाई अंश चाहिदैन, नागरिकता भए पुग्छ । ५० वर्ष वितिसक्दा नागरिक विहिन छु, मेरो जस्तै अवस्था छोरा छोरीको न होस् भनि धेरै संघसंस्थाहरुसंग पहल गरिदिन अनुरोध गरेको छु ।’
गाउँलेहरु सितारामकोलागि जंगलको किनारमा रहेको दुई कठ्ठा जमिनमा घर बनाईदिएका छन् । नागरिकता नभएको कारण उनी सरकारी सेवासुविधाबाट बञ्चित छन् ।
त्रुटिपूर्ण सरकारी सिफारिसले परिवारै विचल्लीमा
गौरीगंगा नगरपालिका वडा नं. १० का ४५ वर्षीय नरे भूलको बसाई सराईमा नन्नु भूल भएको कारण दुई छोरा र एक बुहारी नागरिकता विहिन छन् । २०६१ साउन १५ गते डोटीबाट बसाईसराई गर्दा नरेको ठाउँ नन्नु भएपछि उनका छोरा चर्क भूल र लालबहादुर भूल हाल सम्म नागरिकता बिहीन बनेका हुन् ।
जेठो छोरा चर्क भूल ४ वर्ष अगाडी जानकी सार्कीसंग विबाह गरे । उनीहरुसंग ३ वर्षको बच्चा छ । जानकीले भनिन् ‘न बिबाह दर्ता छ, न नागरिकता । बच्चाको जन्म दर्तापनि छैन । जुन कारण राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित छौं ।’
उनले थपिन् ‘गौरीगंगा नगरपालिकाले बालबालिकालाई मासिक ४०० रुपैया पोषण भत्ता दिन्छ । त्यो सुविधाबाट पनि बञ्चित छौं ।’ अति विपन्न‚ लोपोन्मुख र नेपाल सरकारले तोकेका पाँच वर्ष उमेर पूरा नगरेका बालबालिकाले सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोकेको बालपोषण भत्ता दिदै आएको छ । साथै उपदफा (१) बमोजिमको बालबालिकालाई बालपोषण भत्ता दिने प्रकृया तोकिए बमोजिम रहेको छ ।
सरकारको कमजोरीले सानो लापरवाहीलेगर्दा हामी पुरै परिवार दुःख पाईरहेका छौं उनले भनिन् । उनीहरु नागरिकता र बिबाह दर्ताको लागि वडा कार्यालयको सिफासिर लिएर तीन पटक जिल्ला प्रसाशन कार्यालय धाईसकेको बताउँछन् । जानकीका अनुसार उनीहरु पढेलेखेका छैनन् । नागरिकता बनाउने प्रक्रियाबारेपनि अनविज्ञ रहेको उनको भनाई छ ।
गौरीगंगा नगरपालिका वडा नं. १० मा (२०७६/०७७) एक वर्षको अवधिमा ८७ वटा नागरिकता, २३३ वटा विवाह दर्ता, १५९ जन्म दर्ताको सिफारिस बनेको छ । गाउँघरमा नागरिकताको महत्व नबुझेकै कारण धेरै नागरिकहरु नागरिकता विहिन बनेको अधिकारकर्मी सावित्रा घिमिरे बताउछिन् ।
उनले सूचना अभाव, सम्पत्तिमा महिलाको हक नहुनु लगायतका कारणले अहिलेपनि धेरै महिलाहरु नागरिकताबाट बञ्चित भएको बताए ।
महिलाहरुको अधिकार संरक्षण र सम्बद्र्धन गर्दै न्यायमा पहुचको लागि काम गर्दै आएको संस्था दलित महिला अधिकार मञ्च नेपालले दुई वर्षको अवधिमा ६०७ जनालाई नागरिकता, ३१७ जनालाई जन्मदर्ता र २११ जनालाई बिबाहदर्ता बनाउनमा सहयोग गरेको घिमिरे बताउछिन् ।
‘गाउँघरमा धेरैलाई नागरिकता बनाउन प्रक्रिया थाहाँ हुदैन, जुन कारण समस्या झेल्न बाध्य हुन्छन् । कसैको मुचुल्का उठाउन, सनाखत गर्न, साक्षी बस्नमा पनि सहयोगी भुमिका खेलेका छौं ।’ उनले भनिन् ।
गौरीगंगा नगरपालिकाका उप–प्रमुख नगरपालिकाभित्र अहिलेपनि धेरै जना नागरिकता विहिन रहेको बताईन् । उनले एकल महिला, हिंसा प्रभावित, अन्तरजातिय बिबाह गरेकाहरुको नगरिकताको विषय लिएर परामर्श लिन आउनेहरुपनि धेरै रहेको बताईन् ।
नगरपालिकाको सिफारिसमा एक वर्षयात एकल महिला, हिंसा प्रभावित, बृद्धागरि ५ जनाको नागरिकता बनाएको बताए । ग्रामीण क्षेत्रमा गएर खोज अनुसन्धान गर्दा अहिले पनि धेरैले नागरिकताको आवश्यकता महशुस गर्न नसकेको उनको तर्क छ ।
कैलाली सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले सरकारले निश्चित मापदण्द तोकिएको कारण प्रमाण पेश गर्न नसक्ने नेपाली नागरिकहरुपनि नागरिकता पाउनबाट बञ्चित हुने गरेको बताए । ‘अनाथ बेसहाराहरुको हकमा दर्ता भएका अनाथलय, बालमन्दिरले संरक्षण गरेको हकमा पनि नागरिकता बनाउन सकिन्छ तर अन्यको हकमा गाह्रो हुन्छ ।’
नेपालमा धेरै मान्छे व्यवहारिकरुपले नागरिकताबाट बञ्चित भएको देखिन्छ तर कानून प्रमाण खोज्ने भएको हुँदा सम्बन्धित निकायका पदाधिकारीहरुले रिक्सा लिना नचाहेर यस्तो समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले बताए ।
नेपालको संविधानको भाग २ को धारा ११ देखि १५ सम्म नागरिकतासम्बन्धी संवैधानिक व्यवस्था छ । धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने संवैधानिक ग्यारेन्टी गरेको छ ।













