कैलालीका पत्रकार आन्दोलित, दोषी पक्राउ नगर्दा प्रशासनमाथि नै प्रश्नचिन्ह

कैलाली, २८ भदौ । कैलालीबाट सञ्चालित दिनेश सञ्चार गृहका कार्यालय भित्रै पत्रकारमाथि आक्रमण गर्ने समुहलाई कारबाहीको माग गर्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।

शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५ –२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए। समाचारको विषयलाई लिएर व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहलाई पनि हातपात तथा दुर्व्यवहार भएको घटनालाई लिएर कैलालीका पत्रकार आन्दोलित भएका हुन् ।

पीडित पक्षले कुटपिट गर्ने विरुद्ध कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको तीन दिनसम्मपनि प्रहरी प्रशासन मुखदर्शक हुँदा नेपाल पत्रकार महासंघ कैलालीको नेतृत्वमा पत्रकारहरु र्याली सहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।

महासंघले शनिबार २४ पत्रकारमाथि कुटपिट गर्ने दोषीलाई पक्राउको माग गर्दै २४ घण्टाको अल्टिमेटम सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञपानपत्र बुझाएका थिए । सो अवधिमा प्रहरी प्रशासनले दोषीहरुलाई पक्राउ गर्न असफल भएपछि महासंघले चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य भएको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले बताए । उनले दोषीलाई पक्राउ नगर्दा सम्म आन्दोलन नरोकिने बताए ।

कोण सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बमले मिडिया हाउस भित्र पत्रकार कुटिन थालेपछि पत्रकार सुरक्षा खोई भन्दै प्रहरी प्रशासनलाई प्रश्न गरेका थिए । उनले पत्रकारमाथि आक्रमण गर्नु सिंगो प्रेस स्वतन्त्रतामाथिको आक्रमण रहेको बताउँदै दोषीलाई यथासिघ्र पक्राउ गरि कर्बाहीको प्रक्रिया अगाडी बढाउन माग गरे । केन्द्रीय सदस्य बमले उजुरी दिएको तिनदिन वितित्नै लाग्दा समेत प्रहरी प्रशासन घटनाप्रति वेवास्ता गरेको आरोप लगाए ।

त्यसै गरि नेपाल पत्रकार महासंधका पूर्व केन्द्रीय सदस्य मनमोहन स्वाँरले नेपालमा पछिल्लो पटक प्रेसमाथि चरणबद्धरुपले आक्रमण भईरहदा समेत प्रशासनिक निकाय गैरजिम्मेवार बनेको बताए । उनले दोषीलाई पक्राउ गर्न नसक्नु प्रहरी प्रशासनका क्षमतामा प्रश्नचिन्ह खडा हुने बताए ।

यस्तै महासंघका पूर्व केन्द्रीय सदस्य दिलबहादुर छत्यालले दोषीलाई तत्काल कर्बाही नगरे आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य हुने बताए । घटनाको चाँडो सुनुवाई नहुँदा घटनालाई अन्तराष्ट्रि«यकरणगरि कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

यस्तै नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष अर्जुन शाह, कैलाली पूर्व अध्यक्षद्धय दिर्घराज उपाध्याय, भरत शाह लगायतले पत्रकारमाथि सुरक्षा तथा प्रेस स्वतन्त्रतामो माग गरेका थिए ।

चोरी आरोपमा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विक शुक्रवार बिहान प्रहरी थुनुवा कक्षको शौचालयभित्रै झुन्डिएको अवस्थामा फेला परेको सूचना जिल्ला प्रहरी कार्यालय कैलालीले सञ्चारगृहलाई दिएको थियो । सोही सूचनालाई आधार मानेर धनगढीका मिडिया हाउसले सामाचार प्रकाशन गरेका थिए । तर विकको आत्महत्या नभएर हत्या हो भन्दै मृतकका आफन्तले आक्रोशित भएपछि दिनेश सञ्चार गृहमा आक्रमण भएको थियो ।

उता जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी अनुप सम्शेर जबराले घटनामा संलग्न हुनेहरुको खोजतलास भईरहेको बताए । पत्रकारले सोधेको प्रश्नको जबाफ दिदै उनले भने ‘जस्को नाममा जाहेरी परेको छ त्यो मान्छे घरमा छैन, फेला परे हामी समाति हाल्छौं नि ।’