जनता समाजवादी पार्टीद्धारा सांसद रेशम चौधरीको रिहाईको माग
काठमाडौ २८ भदौं । जनता समाजवादी पार्टी (जसपा)ले सांसद रेशम चौधरीको रिहाइको माग गरेको छ । जसपले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद चौधरीलगायत नेता/कार्यकर्तामाथि सरकारले लगाएको मुद्दा खरेज गरी रिहा गर्न माग गरेको हो।
२०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौधरी टिकापुर घटनामा दोषी ठहर गराइएको छ । २०७२ भदौमा थारुहटको आन्दोलन चर्किँदा उक्त घटनामा नेपाल प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीको ज्यान गएको थियो।
जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा मधेस/थारू आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्तामाथि सरकारद्वारा मुद्दा चलाउने, धन सम्पत्ति रोक्का गर्ने, थुनामा राख्ने कार्य अझै पनि जारी रहेको भन्दै तत्काल बन्द गर्न माग गरेका छन्।













