बिश्व खाद्यले १ करोड भन्दा बढि रकम बाढी पीडितलाई रहत

कैलाली, १८ भदौं । कैलालीका तिन वटा स्थानीय पालिकाका बाढिपीडितहरुलाई बिश्व खाद्य कार्यक्रमले राहत स्वरुप नगद रु १ करोड १८ लाख ३५ हजार रुपैया बितरण गरेको छ ।

कैलालीको अति प्रभावित क्षेत्र भजनी नगरपालिकाका ९२१ टिकापुर नगरपालिकाका २७१ र जानकी गाउँपालिकाका १२३ गरि १ हजार ३१५ जनालाई नगद रु ९ हजारका दरले रकम बितरण गरिएको बिश्व खाद्य कार्यक्रमका सुदुरपश्चिम प्रदेश प्रमुख रबिन्द्र चन्दले बताए ।

उनले गत साउन १४ गते आएको बाढीका कारण पुर्ण रुपमा घर क्षति भएका, घरमा राखेको खाद्यान्न नष्ट भएका र खेतमा लगाएको अन्नबाली कामै नलाग्ने गरि नोक्सान भएकाहरुलाई नगद ९ हजारका दरले बितरण गरिएको बताए ।

शुरुमा जानकी गाउपालिका र टीकापुर नगरपालिकाका बाढीपीडितलाई रकम बितरण गरिएको हो । भाद्र १८ गतेदेखि भजनी नगरपालिकामा रकम बितरण गरिने प्रमुख चन्दले बताए ।

स्थानीय पालिकाले दिएको तथ्यांक र बिश्व खाद्य कार्यक्रम आफै फिल्डमा खटाएका कर्मचारीहरुले वास्तविक पीडित छनौट गरि आइएमाइबाट रकम पाउने ब्यबस्था मिलाइएको बताए । प्रमुख चन्दले भिडभाड नहोस भन्नका भनि धेरै भन्दा धेरै स्थानबाट पैसा निकाल्ने ब्यबस्था मिलाइएको जानकारी दिए ।

रकम पाएपछि पीडितको अनुहारमा खुशी

गत साउन १४ गते राती एक्कासि घरमा बाढी पसेपछि ७ बर्षिय नाती च्याप्दै घर छोडेर भागेकी टिकापुर नगरपालिका एकताबस्तीकी मनिसरा लुहारले त्यहि बाढीले घर पुर्ण रुपमा भत्काएको बताइन । त्यहि दिनदेखि बचेको केहि पुराना डस्ना र दुइओटा डोरीको खाट सहित अहिले मनिसरा बन समितिले बनाएको टिनको टहरामा बसिरहेकी छिन । उनिसंगै त्यहाँ ७ परिवार बसिरहेका छन ।

बिश्व खाद्य कार्यक्रमले दिएको नौ हजार रुपैया देखाउदै मनसराले अब घर ठ्ड्याउने बताइन । उनले केहि खानेकुरा पनि किन्ने भन्दै नातिलाई देखाउदै यसलाई खाना त दिनु पर्‍यो नि भनिन । उनले दुई छोरा बुहारी कामका लागि भारतमा रहेको बताइन ।

त्यस्तै सोहि ठाउँकी लक्षि दमाई पनि आफ्ना ४ जना नातिनातिनालाई खाना खुवाउदै थिइन । उनले पनि साउन १४ गते आएको बाढीले घर भत्काएको बताउदै बिश्व खाद्य कार्यक्रमले दिएको रकमले घर निर्माण गर्ने बताइन । साउन १४ गते आएको बाढीले एकताबस्तिका करिब २०९२२ घर पुर्ण रुपमा क्षति भएका छन ।