सेवा सुविधामा सहजता ल्याउन हेल्थ डेस्क र होल्डिङ्ग सेन्टर

धनगढी, १३ भदौं । धनगढी उप–महानगरपालिकाले गौरीफन्टा सीमानाकामा सेवा सुविधामा सहजता ल्याउन मोहना नदीवारी हेल्थ डेक्स र होल्डिङ्ग सेन्टर निर्माण गर्न थालेको छ ।

यस अघि मोहना नदि पारि सिमानाकामै भारतबाट फर्किनेहरुको चेकजाँचका लागि अस्थायी हेल्थ डेस्क र होल्डिङ्ग सेन्टर स्थापना गरि काम थालेको थियो ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भारतबाट भित्रिनेहरुले दुःख पाउने देखेपछि हेल्थ डेस्क र होल्डिङ्ग सेन्टर बनाउन थालेको बताए । विश्वमा कोरोनाको महामारी शुरु भएदेखि त्रिनगर नाकाबाट आएका लाखौ नेपालीको उद्धार तथा गन्तब्य सम्म पु्¥याउँने उदेश्यले भन्सार कार्यालय नजिकै सुविधा सम्पन होल्डीङ सेन्टर तथा हेल्पडेस्क बनाउन लागेको नगर प्रमुख वडले बताए । उनले भारत बाट आउँने नेपालीलाई होल्डीङ सेन्टरमा सवै खाले सेवा सुविधा रहने जानकारी दिए ।

कैलाली प्रशासन र धनगढी उप–महानगरपालिकाले अहिले सम्म लगभग ४ लाखको ब्यबस्थापन गरेको नगरप्रमुख वडले बताए । उनले कञ्चनपुर प्रशासनले ब्यबस्थापन गर्ने भनेपनि नेपाल भित्रिने नागरिकहरु समस्यामा नहुन भनेर हेल्थ डेस्क र होल्डिङ्ग सेन्टर तयार गर्न लागेको जानकारी दिए ।

बर्षौदेखि भारतको गौरिफन्टा र कैलालीको त्रिनगर नाका क्षेत्रमा कैलालीको सुरक्षाकर्मी खटिएका थिए । तर केहि दिनदेखि कञ्चनपुरले आफ्नो क्षेत्र भन्दै कञ्चनपुरका सुरक्षाकर्मी खटाएको छ । जुन कारण कैलाली आउँने नागरिकलाई सहजता प्रदान गर्न सिमानामा होल्डीङ सेन्टर बनाउने काम शुरु गरेको हो ।

होल्डीङ सेन्टर बाट धनगढी उपमहानगरपालिकाका नागरिकलाई क्षेत्रिय रंगशालामा निर्माण गरिएको क्वारेन्टिन र उर्मामा बनाएका आईसोलेसनमा राखिने नगर प्रमुख वडको भनाई छ ।