२० बर्षपछि डाँका चोरी मुद्दामा फरार चार व्यक्ति पक्राउ, जम्मा कैद १७० बर्ष !

धनगढी, ११ भदौं । कैलालीमा डाँका चोरी मुद्धामा दोषी ठहर भई फरार रहेका चार जना २० वर्षपछि पक्राउ परेका छन्। जोशीपुर गाउँपालिकाबाट चार जनालाई पक्राउ गरिएको हो।

जोशीपुर गाउँपालीका वडा नम्वर ६ बस्ने ४५ बर्षीय रोगही भन्ने क्रमराज थापा, जोशीपुर ३ बस्ने ४९ बर्षका रोहिना भन्ने भगत चौधरी, वडा नम्वर ४ बस्ने ३८ बर्षीय कालु भन्ने गुन सिंह कठरिया, भजनी नगरपालिका वडा नम्वर ६ बस्ने बर्ष ४७ का टिकाराम चौधरीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको हो। २०५७ सालमा विभिन्न मितिमा डाँका चोरी मुद्दामा पक्राउ परि पुर्पक्षकालागि कारागार चलान भएका उनीहरु २०६१।१०।२७ गते कैलाली कारागारबाट भागी फरार सुचिमा थिए ।

थापा ८ वटा डाँका चोरीमा दोषी ठहर भएका थिए। उनलाई जिल्ला अदालत कैलालीले ८७ बर्ष कैद सजाय र ४४ हजार एक सय ५३ रुपैँया जरिवाना तोकेको थियो। उनी कैलाली कारागारबाट फरार भएका थिए।

चौधरी भने एउटा डाँका चोरीमा संलग्न थिए। उनलाई अदालतले ६ बर्ष कैद र चार हजार पाँच सय जरिवानाको सजाय सुनाएको थियो। कठरिया चार वटा डाँका चोरी मुद्दामा दोषी ठहर भएका थिए भने अदालतले ३९ बर्ष कैद र १४ हजार ७० रुपैँया जरिवाना तोकेको थियो।

टिकाराम चौधरी ५ वटा डाँका चोरी मुद्दामा दोषी ठहर भएका थिए भने अदालतले ३८ बर्ष कैद र नौँ हजार चार सय ४० जरिवाना तोकेको थियो।

उनीहरु चारै जनाको जम्मा कैद एक सय ७० बर्ष हुने कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए। ‘उनीहरुले भरुवा बन्दुक, खुकुरी र लाठ्ठी समेत बोकी स्थानीय व्यक्तीहरुको घरमा घेरा हाली जिन्सी तथा धनमालहरु लुटपाट गरेका थिए’ प्रहरी नायव उपरिक्षक विष्टले भने।