अवसरले चम्केका हिराहरू
कैलाली, १० भदौं । कैलालीको घोडाघोडी नगरपालिका–७ की निर्मला चौधरी आत्मविश्वास दह्रो हुने मान्छेलाई सफलताको शिखर चुम्नबाट कसैले पनि रोक्न सक्दैन भन्ने उदाहरण हुन् ।
२८ वर्षीया अविवाहित निर्मलालाई पाँच कक्षामा पढ्दै गर्दा परिवारले ‘छोरी पढाउनु हुँदैन’ भनि स्कुल नजान उर्दी दिए । छोरी मान्छे पढ्यो भने बिग्रन्छन् भन्दै घर र खेत बारीको काममा आफूहरूलाई सघाउन निर्देशन दिए । तर पढाइको रसमा चुर्लुम्मै डुबिसकेकी उनमा सानै भए पनि शिक्षाको महत्व ठूलो थियो । त्यसैले स्कुल नजान अभिभावकले दिने धम्कीलाई कुल्चिदै गइन् । अनि विद्यालयका शिक्षकसंग ‘मलाई धेरै पढ्न मन छ, घरबाट स्कुल नजान भन्छन् । मलाई सहयोग चाहियो’ भनिन् । शिक्षकले पनि उनको पढाइप्रतिको मोह देखेर कापी किताब किनिदिएर सहयोग गरे ।
पढाइको महत्व, पढ्ने चाहाना, दुःखसंग हार नखाने स्वभाव र लक्ष्य प्राप्तिको बाटोलाई नछोड्ने दृढताकै कारण अहिले आफू सफलता नजिक पुगेको भन्दै खुशी साँटिन्, उनले ।
अभिभावकको छत्रछायामा हुर्किनु पर्ने ११ वर्षको कलिलो उमेरमै निर्मलाका बुबा विपतराम डगौराले देह त्यागे । श्रीमान्को मृत्युसंगै उनकी आमा रामललिया डगौरालाई ३२ जनाको संयुक्त परिवारको नेतृत्व गर्नुपर्ने जिम्मेवारी थपियो । बुबाको अभावसंगै आमाको व्यस्त दैनिकीका बीच जसोतसो निर्मलाको बाल्यावस्था पनि निकै पीडा र अभावमै बित्यो ।

उनका ४ दिदीबहिनी र २ दाजुभाइ छन् । सामान्य परिवारमा हुर्केकी उनमा सानैदेखि छोरीहरू पढ्नुपर्छ भन्ने धारणा थियो । तर उनको परिवार र समाजलाई त्यो कुरा पाच्य थिएन । छोरीहरूको शिक्षालाई न अनिवार्य ठानियो, न महत्वपूर्ण । त्यसैले स्कुल जाने अथाह चाहना भएकी उनलाई पनि हरेक दिन स्कुल नजान धम्की थियो । जसोतसो पाँच कक्षा पढ्दै गरेकी निर्मलालाई दाइले स्कुल छोड्न निर्देशन दिए । तर पनि उनले टेरपुच्छर लगाइनन् । जे पर्ला, टर्ला भन्ने मनोबलका साथ पढ्ने चाहानामा ‘ब्रेक’ लाउन सकिनन् ।
‘निकै मेहनत गरेर एसएलसी दिएँ । नतिजा राम्रो आएपछि ५० प्रतिशत छात्रवृतिमा ‘प्लस टु’ पढ्न पाएँ । त्यही बेला जिल्ला शिक्षा कार्यालय अन्तरगत सामुदायिक सिकाई केन्द्रद्वारा सञ्चालित साक्षर उत्तर कक्षा (प्रौढ कक्षा) पढाउने अवसर मिल्यो । त्यो पढाएबाफत महिनाको ३ हजार तलब आउन थालेपछि कापी कलम किन्ने समस्या टर्न थाल्यो’ उनले सुनाइन् ।
कखरा सिकेदेखि नै पढाइप्रति ‘प्यासन’ रहेकी निर्मलाले अवसरहरूको खोजी पनि गरिरहन्थिन् । कुनै ठाउँमा कार्यक्रम भईरहेको थाहा पाउनसाथ कुदेर त्यहाँ सहभागी हुन्थिन् । ‘त्यस्तो ठाउँमा जाँदा कहिलेकाहीँ बोल्ने प्रयास पनि गर्थें । मेरो कुराको सुनुवाई नै हँुदैनथ्यो । तर पनि मन खिन्न पार्थेन’ निर्मलाले भनिन् ।
टोल, छिमेक र गाउँघरमा हुने सार्वजनिक भेला तथा कार्यक्रममा उपस्थित हुने, आफ्ना कुरा राख्ने र परिवर्तन खोज्ने निर्मलाको हक्की स्वभावले समाजमा बिस्तारै उनको खोजी हुन थाल्यो । ०६९ सालमा वडा नागरिक मञ्चको संयोजक हुने मौका मिल्यो । त्यही क्रममा ओरेक नेपालको समन्वयमा महिला मानव अधिकार रक्षक सञ्जाल सुखड शाखाको सदस्य भएर काम गर्ने अवसर पाइन् । हाल उनी नगर स्तरीय युवा सञ्जालको सल्लाहकार भएर समुदायलाई सचेत गराउँदै आइरहेकी छन् ।

पढाईसंगै विभिन्न सामाजिक संस्थामा आवद्ध निर्मलाले अहिले आफ्नै लगानीमा ‘निमा डेरी’ व्यवसाय शुरु गरेकी छन् । महिलाहरू आर्थिकरुपमा आत्मनिर्भर हुनैपर्छ भन्ने मान्यता राख्ने उनले डेरी संचालनका लागि शुरुमा त आफ्नो दाइसंग पैसा मागिन् । तर दाइबाट कुनै सहयोग नभएपछि ओरेक नेपाल लगायतको सहयोगमा आमाबुबाको सम्पत्तिमा अंश दाबी गर्दै २०७५ साल बैशाखमा घोडाघोडी नगरपालिकाको न्यायीक समितिमा निवेदन दर्ता गरिन् । न्यायीक समितिले छलफलका लागि उनको परिवारलाई बोलायो । छलफल पश्चात अन्ततः उनी अंशको भागेदार भईन् । हाल १ वर्षदेखि उनी त्यही जमिन धितो राखेर व्यवसाय गर्दै आएकी छन् ।
डेरी सञ्चालन गर्दा पनि उनले कहाँ सुख पाउनु ? ‘थारुहरू दुध, दही त खादैनन्, अनि दुधको व्यापार कसरी गर्छ ? थारु महिलाहरू त महिनावारी बार्दैनन्, यसको पसलको दुध कसले खान्छ ?’ जस्ता प्रश्न र प्रहार भइरहे पनि उनले वास्ता गरिनन् । निर्मलाले सुनाइन्, ‘तर पनि मैले हार खाइनँ । पसल संचालन गरें । पहिले भन्दा अहिले कारोबार पनि राम्रो छ ।’ सानैदेखि लैंगिक हिंसा, कुरीति, कुसंस्कारविरुद्ध काम गर्दै आएकी निर्मलाले भनिन्, ‘खुट्टा तान्न खोज्नेहरूसंग डराएर कामबाट पछि हटेको भए त म कसरी सफल हुन्थें र ?’ त्यसैले आफूले भोगेका हरेक दुःख नै सफलताको हतियार भएको उनको बुझाई छ ।
घोडाघोडी नगरपालिका २ साढेपानीका २६ वर्षीय शंकर डगौरा मध्यम वर्गीय परिवारमा जन्मिए । स्कुल बाहेक परिवारसंगै खेतीपातीमा बढी ध्यान दिँदै आएका उनले पहिलो पटक २०६० सालमा इक्वेल एक्सेसले रेडियो श्रोता स्थापना गर्दा त्यसको संयोजक भएर काम गर्ने मौका पाए । त्यही अवसर नै उनका लागि घरबाहिरको कुरा सिक्ने र जान्ने खुट्किलो बन्यो ।
२०७२ सालमा ओरेक नेपाल कैलालीले ‘बालिका पैरवी परियोजना’ अन्तर्गत नगर स्तरीय युवा सञ्जाल गठन गर्यो । शंकरलाई त्यसको अध्यक्ष भएर काम गर्ने मौका जुर्यो । उनी प्रत्यक्षरुपमा नगरपालिकासंग समन्वय गरेर काम गर्न थाले ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान, छाउपडी प्रथा, बालविवाह, बहुविवाह, घरेलु हिंसा लगायत विषयमा पैरवी, वकालत, सडक नाटक जस्ता गतिविधिमा सक्रिय सहभागिता जनाउन थाले । नगरपालिकासंगको सहकार्यमा नगरभित्र भौतिक तथा सामाजिक विकासका कामलाई निरन्तरता दिए । यही कामले समुदायमा उनको अलगै पहिचान बन्न थाल्यो ।

‘सञ्जालकै पहलमा १६ वटा बहुविवाह र ८ वटा बालविवाह रोक्यौं’ शंकरले सुनाए, ‘हाल उनीहरू मध्ये कोही ‘प्लस टु’ पढिरहेका छन् त कोही राम्रो व्यापार व्यवसाय गरिरहेका छन् । यस्तो देख्दा निकै खुशी लाग्छ ।’ आफ्नै पहलमा ४ वटा बलात्कारका घटनालाई बाहिर ल्याएर दोषीलाई कानुनको दायरामा ल्याउन सफल भएको पनि शंकरले बताए । उनको कामबाट प्रभावित भएर नगरपालिका र स्थानीय प्रहरीले विभिन्न योजना बनाउने बेला सल्लाह, सुझाब र सहभागिताका लागि समन्वय गर्ने गरेको उनको भनाई छ ।
शंकरको बुझाइमा सरकारको सम्वृद्धिको नारा साकार पार्ने हो भने युवालाई दीगोरुपले व्यवस्थित गर्न नीति बनाएर तत्काल कार्यान्वयन गर्नु पर्छ । यसका साथै आर्थिकरुपमा सशक्त बनाउनका लागि उत्पादनमूलक काममा प्रत्यक्ष जोड्नु पर्छ ।
गौरीगंगा नगरपालिका ८ बढैपुरकी १८ वर्षीया लक्ष्मी चौधरी अहिले १२ कक्षा पढ्दै छिन् । अत्यन्तै न्यून आर्थिक अवस्थाकी उनकी आमा सीतानी चौधरीले ज्याला मजदुरी गरेर जेनतेन छोराछोरीलाई पढाइरहेकी छन् । लक्ष्मीका बुबाको हेपाटाईटिस् बी लागेर २०७४ असार २८ गते मृत्युभयो । बुबाको उपचारका लागि भएको दुई कठ्ठा जमिन बन्धक राखेका कारण मजदुरी नपाएका दिन चुलोमा आगो बल्दैन । त्यसैले अब उनी पढाईसंगै कामको खोजीमा छिन् ।

परिवारको न्यून आर्थिक अवस्थालाई प्रत्यक्ष भोगिरहेकी लक्ष्मीले आफ्नो आत्मबल कमजोर हुन भने दिएकी छैनन् । ‘पहिले पहिले परिवारको आर्थिक अवस्थाका कारण हामी निकै दुःखी छौं, केही गर्न सक्दैनौं जस्तो लाग्थ्यो’ लक्ष्मीले भनिन्, ‘तर किशोरी समूहमा आवद्ध रहेका कारण केही गर्नुपर्छ भन्ने हिम्मत जुट्छ । सायद समूहमा रहेर काम गर्दा धेरैका दुःख र पीडा देख्न पाएर होला ।’
२०७४ मा ओरेक नेपाल कैलालीले गठन गरेको किशोरी समूहमा सदस्य भएर काम गर्ने अवसर पाएकी लक्ष्मीको कामको प्रशंसा गर्दै समूहले अहिले अध्यक्षको जिम्मेवारी दिएका छन् । त्यही जिम्मेवारी निर्वाह गर्ने क्रममा उनलाई समुदायसंग नजिक भएर काम गर्ने अवसर पनि मिल्यो । जसका कारण हिजोका दिनमा कसैसंग बोल्नु पर्दा थर्थर काप्ने उनी अहिले सभा, समारोहमा पनि शीर ठाडो गरेर ढुक्कले भाषण गरिरहेको बताउँछिन् ।
गौरीगंगा नगरपालिकाका प्रमुख भिमबहादुर देउवाले युवालाई स्वरोजगार बनाउन गत वर्ष विभिन्न खाले सिपमूलक तालिम सञ्चालन गरेको बताए । यो वर्ष नीति तथा कार्यक्रमममै ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।

व्यवसाय गर्न इच्छुक युवाहरूलाई प्राविधिक सहयोगसंगै एक लाख बराबरको लगानीमा व्यापार गर्नेलाई ५० प्रतिशत अनुदान दिने कार्यविधी बनाईरहेको पनि नगर प्रमुख देउवाले बताए । नगरपालिकाले युवालाई स्वदेशमै रहेर काम गर्न सक्ने वातावरण सृजना गर्न युवा सञ्जालको माध्यमबाट विद्यालय स्तरीय कार्यक्रम सञ्चालन गर्दै आईरहेको पनि उनले जानकारी दिए ।
नगरपालिकाले युवाको क्षेत्रमा ठूलो बजेट विनियोजन गर्न नसके पनि समन्वय र सहकार्य गरी युवालाई उत्पादनमूलक काममा लगाउन उत्प्रेरणा गरिरहेको नगर प्रमुख देउवाले बताए ।
घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले नगर भित्रका पढाई छोडेर घर बसेका यूवाहरु यूवतिहरुलाई व्यवसायी बनाउन विना धिटो २ लाख सम्म रमक उपलब्ध गराउने योजना ल्याएको बताए । उनले यूवायूवतिहरुलाई विभिन्न किसिमका सीपमूलक तालिम, निशुल्क लोकसेवा कक्षा सञ्चालन लगायतको कार्यक्रम गर्दै आईरहेको जानकारी दिए ।
ओरेक कैलालीका संयोजक बिनु रानाले ‘बालिका पैरवी परियोजना’ अन्तरगत पाँच वर्षको अवधिमा धेरै परिवर्तन आएको बताईन् । गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकामा लागु गरेको उक्त परियोजना अन्तरगत किशोरी, युवा महिला तथा धर्म गुरुहरूको नेतृत्व विकासमा सहयोग पुगेको र तिनै अगुवाहरूमार्फत लैंगिक हिंसा, बालविवाह, बहुविवाह, छाउपडी प्रथा, बोक्सी प्रथा जस्ता कुरीतिविरुद्ध वकालत तथा पैरवी भएको बताइन् ।
संयोजक रानाले किशोरी तथा युवाहरूलाई समान अधिकार, अवसरको प्रबद्र्धन, आर्थिक सशक्तिकरण र सम्मानित जीवनको लागि पैरबी गर्ने परियोजनाको उद्देश्य रहेको जानकारी दिईन् । परियोजनाले सूचना केन्द्र स्थापना गरी युवाहरू मार्फत समुदायमा नगरपालिकाको गतिविधि लगायत न्यायिक निकाय तथा कानुनी परामर्श समेत दिँदै आएको बताईन् ।
नगरपालिकाको सहकार्यमा सोही परियोजना अन्तर्गत लैैंगिक समानता, नीति निर्माण र सुरक्षा आवास निर्माणको लागि पैरवी पश्चात् यस वर्षदेखि महिला सुरक्षित आवास गृह सञ्चालन गरी हिंसा प्रभावितहरूलाई अवाससंगै मनोपरामर्श सेवा पनि दिँदै आएको उनको भनाई छ ।
साथै नगरपालिकाले कार्यबिधि बनाएर सुरक्षित आवास गृहको लागि बजेट विनियोजन गरिसकेको रानाको भनाई छ ।













