कोरोना संक्रमणबाट शनिबार थप ९ जनाको मृत्यु, ६३४ जना थपिए, १३६ डिस्चार्ज
काठमाडौं, ६ भदौं । बितेको २४ घण्टामा थप नौ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलनगरी थप नौ जनाको मृत्यु भएको जानकारी दिएको छ।
शनिबार थपिएको सहित नेपालमा संक्रमणबाट मृत्यु हुने संख्या १४६ पुगेको छ। देशभर ३८ प्रयोगशालाबाट १२ हजार ५१९ जनाको पीसीआर रिपोर्ट आएको छ। रिपोर्टअनुसार, १८२ महिला र ४५२ पुरुष गरी थप ६३४ जनामा संक्रमण पुष्टि भएको छ।
सवैभन्दा बढी काठमाडौंमा संक्रमित थपिएका छन्। काठमाडौंमा १६० जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा ५० र ललितपुरमा ६ जना गरी राजधानी उपत्यका २१६ जनामा संक्रमण पुष्टि भएको छ। राजधानी उपत्यका पछाडि पर्सामा ५९, मोरङमा ५२, सिराहामा ३५, चितवनमा २७, कास्कीमा १६ र कैलालीमा १४ जनामा संक्रमण पुष्टि भएको छ।
शनिबार थपिएको सहित नेपालमा संक्रमित संख्या ३१ हजार ११७ जना पुगेको छ। त्यस मध्ये २४ घण्टामा १३६ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म संक्रमित मध्ये ५९ प्रतिशत अर्थात् १८ हजार ३५० जना संक्रमित डिस्चार्ज भएका छन्।
सक्रिय संक्रमित संख्या भने १२ हजार ६६१ जना छन्। त्यस मध्ये आठ हजार ७०५ संस्थागत र तीन हजार ९१६ होम आइसोलेसन छन्। हिमालखबरबाट













