सुदूरपपिश्चमका विभिन्न स्थानमा पहिरो र बाढीले १० जनाको मृत्यु

कैलाली, ३ भदौं । अविरल बर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा पहिरो जाँदा १० जनाको मृत्यु भएको छ ।

मंगलबार रातीदेखि आएको अबिरल बर्षाका कारण अछामको रामारोशन गाउँपालिका–५ कैलाशखोलाको बाढीले बगाएर ६ जनाको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिईन् । उनका अनुसार रामारोशन गाउँपालिका वडा–५ सैनिबजारबाट वेपत्ता भएका मध्ये ६ जनाको शव फेला परेको छ ।

४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको र दुई जनाको शव मंगलसेन नगरपालिका– ३ स्थित लमतणा र सेरीमा भेटिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए ।

यस्तै पहिरोमा परेर बझाङमा पनि २ जनाको मत्यु भएको जनाएको । बझाङका प्रमुख जिल्ला अधिकारी कमल भण्डारीका अनुसार जिल्लाको बुङगल नगरपालीका–५ मिडीमा गयराती गएको पहिरोमा परी चार जना घाईते भएका छन् भने वेपत्ता भएका २ जनाको शव फेला परेको छ । मृत्यु हुनेमा बुङ्गल नपा–५ का १४ बर्षे सचिन ताम्राकार र बुङ्गल–४ का दमन ओखेडा रहेको प्रजिअ भण्डारीले बताए ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टङ्क राज भट्टराईका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिका–१ का मीन बहादुर बुढाकी ३ वर्षीय छोरी सुमीका बुढाको पहिरोमा पुरिएर मृत्यु भएको हो । उनकी ५ बर्षिया दिदी विनीता बुढा र ६५ बर्षिया हजुरआमा नन्दादेवी बुढा पनि घाइते भएको बताए ।

त्यस्तै बाजुरामै बढीगाढ र धूपे खोलामा आएको बाढीमा बगेर अर्की एक महिलाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए । उनका अनुसार बाजुराको बुढीनन्दा गाउँपालिका– ६ की ७५ बर्षिया धिनु लुहारको पहिरोमा परी मृत्यु भएको हो ।