कैलालीको सहजपुरमा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

धनगढी, ३ भदौ । कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । बुधबार मध्यान्ह १२ बजेतिर पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।

सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्लाका लागि एउटै मार्गको रुपमा रहेको सो राजमार्ग अवरुद्ध भएपछि धेरै यात्रु बाटोमा अलपत्र परेका छन् । कम्तीमा पनि डेढ सय गाडीको बाटोमा लाम लागेको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले जानकारी दिए । पहिरो खसेर सात वटै पहाडी जिल्लामा जान र उताबाट यता आउन ठप्प भएको छ ।

उनले माथिबाट ढुंगाको चट्टान खसेर बाटो अवरुद्ध भएको बताए । बाटो खोलाउन जेसिवि लगाउदा ठूलो पहिरो जाने जोखिम देखिएकोले बाटो खोल्न नसेकोको अध्यक्ष रोकामगरले बताए ।

उनका अनुसार राजमार्गमाथि करिब २५ मिटरसम्म पहिरो थुप्रिएको छ । यसैगरी, माथिबाट खसेको ढुङ्गाले सडकसमेत भत्काएको छ ।