सुदूरपश्चिममा १० जना थपिए कोरोना संक्रमित

धनगढी, ३ भदौ । सुदूरपश्चिम प्रदेशमा आज १० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज १० जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका तीन जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गौरीगंगा नगरपालिका ४ की २५ वर्षीया महिला, गौरीगंगा ९ का ५० वर्षीय पुरुष र घोडाघोडी नगरपालिका ४ की २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको बताए ।

पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा ७१ जनाको कोरोना परीक्षण भएको थियो ।

यस्तै डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ७७ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण देखिएको छ ।

अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुषालका अनुसार संक्रमित डोटी र अछामका जिल्लाका हुन ।

डोटीको सायल गाउपालिका २ जना र दिपायल सिलगढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै अछामको मेल्लेख गाउपालिकामा ३ जनामा पुष्टि भएको भुषालले बताए । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ८६ पुगेको छ ।