एकैदिन थपिए एक हजार भन्दा धेरै कोरोना संक्रमित, ७ जनाको मृत्यू
काठमाडौं, २ भदौं । मुलुकमा पहिलोपटक एकैदिन एक हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार मंगलबार मात्रै मुलुकमा १ हजार १६ जनामा कोरोना पुष्टि भएको छ ।
उनका अनुसार निको भएर घर फर्किनेको संख्या ८५ जना मात्रै छन्। यससँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ। सक्रिय संक्रमितको संख्या १० हजार ५५३ रहेको छ।
प्रदेश अनुसार सक्रिय संक्रमितको संख्या प्रदेश १ मा ९७८ जना प्रदेश २ मा २०७६, बागमती प्रदेशमा २५१४ जना, गण्डकी प्रदेशमा २७९ जना, प्रदेश ५ मा ७७९ जना, कर्णालीमा २०८ जना र सुदूरपश्चिममा ८३२ जना छन्।
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। यससँगै मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ जना पुगेको छ।













