कोरोना कहर : दलित महिला भन्छन् ‘पेट कसरी पाल्ने ?’
कैलाली । ‘यसपाली रोपाइको बेला कसैले काम दिएनन् । कामै नभएपछि पैसा हुने कुरै भएन । पैसा नहुँदा भोकमरीले मरिने डर छ’ कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ की ३० वर्षीया कल्पना नगारीले भनिन्, ‘कामको भ्याइ नभ्याई हुने असारमा एक सुकोको काम पाइएन । पेट कसरी पाल्ने निकै चिन्ता छ ।’
ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने कल्पनालाई कसैले काम नदिनुको कारण रहेछन्, कोरोनाको संक्रमणमा परेका उनका श्रीमान् ।
गएको वैशाख १५ उनका श्रीमान् टिकानारायण नगारी भारतबाट नेपाल आए । नेपाल पुगेर कोरोना परीक्षण गर्दा संक्रमण (पोजेटिभ) देखियो । ५० दिनको क्वारेन्टिन बसाईपछि टिकानारायण आफ्नो घर पुगे । घर पुगेर पनि परिवार, छिमेकी कसैको नजिक गएनन् । अर्थात फेरि ७ दिन घरकै गोठमा ‘होम क्वारेन्टिन’ मा बसे । त्यसपछि मात्रै परिवार बसेको दैलो प्रवेश गरे ।
कल्पनाको आफ्नै घर छैन । बस्नको लागि देवरानीले एउटा कोठा दिएकी छन् । उनीहरू सबै त्यही कोठामा बस्छन् । २०७६ पुसमा सासू बितिन् । भारतमा मजदुरी गर्ने टिकानारायण आमाको किरिया गर्न नेपाल आए । फर्केर भारत जाने मन त थिएन । स्वदेशमै ज्लाला मजदुरी गरी परिवार पाल्ने सोच बनाएका थिए । तर नियतीले उनलाई फेरि भारत जान बाध्य बनायो । आमाको किरिया गर्न लिएको साहुको कर्जा चुक्ता गर्न उनी पुनः भारत जानु पर्यो ।
भारत पुगेर काम पनि पाए । तर काम पाएको २२ दिनमै कोरोना महामारीका कारण भारतमा बन्दाबन्दी शुरु भयो । गर्दै गरेको काम बन्द भयो । बन्दाबन्दीपछि काम अन्य पाइएन । बाँच्नकै लागि साथीभाइसंग ऋण निकाले । ऋणमाथि ऋण थपिदा टिकानारायणलाई तनाव पनि थपिदै गयो । अन्ततः ज्यानलाई जोखिममा राखेर उनी घर फर्केका थिए ।
‘आज जोहो गर्यो, भोली के खाने चिन्ता हुन्छ । सम्झिदा बेहोस हुन्छु जस्तो लाग्छ । साहुको ऋण बढेको बढ्यै छ’ कल्पनाले थपिन्, ‘यस्तो बेलामा असारमा रोपाइँ शुरु हुँदा काम पाइएला भनेको त झन् कसैले काम दिएनन् । तेरो श्रीमान्लाई कोरोना छ । तँलाई पनि सरेको छ होला । खेतमा सँगै काम गर्नुपर्छ । हामी तँ सँग काम गर्दैनौं भने ।’
सरकारले भदौदेखि स्कुल खोल्ने भनेको सुन्दा कल्पना र टिकानारायणलाई थप तनाव छ । साहुको ऋण ३० हजार नाघिसक्यो । छोराछोरीको किताब कापी किन्न सकेको छैन ।
महामारीका बीच परदेशबाट जसोतसो ज्यान जोगाएर टिकानारायण घर त फर्किए तर उनीसंगै खुशी फर्किएन । बाबा आउँदा पुरै शहर बोकेर आउनुहुन्छ भन्दै बाटो हेरेका छोराछोरीले ‘तेरो बालाई कोरोना छ । हाम्लाई सर्छ । उता जाउ’ भन्दै छिमेकी र आफन्तकै हेला र अपमान सहे ।
सोही टोलकी ४० वर्षीया कलावती आउजीसंग पनि दुःखका पहाड नै छन् । श्रीमान् बितेको ९ वर्ष भयो । दुई कठ्ठा ऐलानी जमिन छ । कान्छो छोरालाई मुटुको रोग छ । जेनतेन गरी ३ छोरा हुर्काउँदै थिइन्, जेठो छोराको पनि मृत्युभयो । आफै विधवा उनले आफ्नै आँखा अगाडि बुहारीको सिउँदो पनि उजाडिएको देख्नुपर्यो । ‘जेठी बुहारी, नाति, दुई छोरा र एक अनाथ बच्चालाई स्याहारिरहेकी छु । कमाउनेचाहिँ २२ वर्षका माईलोे छोरा दिपक मात्रै छ । उसैको पुगअपुग कमाइले जेनतेन खर्च धान्दै आयौं’ कलावतीले सुनाइन् ।
दिपक रोगजारीको शिलशिलामा भारतमै बस्थे । ४ हजार रुपैयाँ भाडा तिरेर बम्बैबाट गत जेठ ३० गते नेपाल पुगे । नेपाल पुग्नासाथ आमालाई फोन गरे । कलावतीले भनिन्, ‘गोजीमा पैसा नभए पनि छोरो सकुशल पुगेछ भन्ने सोचें, निकै खुशी भएँ । तर दिपकले हत्तपत्त आफू तीन दिनदेखि भोकै रहेको बताएपछि फोनमै रुन थालें म । उसलाई राखिएको क्वारेन्टिनमा पुगे, भेट्न दिइएन । यो मन यति दुखेन नानी ।’
नेपाल पुगेका दिपकलाई कोरोना पोजेटिभ देखियो । लक्षण नेदखिए पनि ३५ दिन क्वारेन्टिमा राखियो । दुखीलाई दुःखले नछोड्ने रहेछ । त्यहाँ पनि उस्तै दुःख र अपमान झेले उनले । कथित दलित जाती भएकै कारण क्वारेन्टिमा त झन् जातिय विभेद पनि भोगे । घर फर्केर एक हप्ता उनी पनि घरकै गोठमा थप क्वारेन्टिनमा बसे । ‘त्यहाँबाट निस्किन नपाउँदै आफन्त र छिमेकीकै छीछी र दूरदूरको त के गर्नु झन्’ दिपकले सुनाए ।
भारतमै हुँदा बन्दाबन्दी शुरु भएपछि दिपकको रोजगारी गुम्यो । उनको रोजगारी संगै परिवारको गास पनि गुम्यो । त्यस यता दैनिक रोजीरोटीका लागि साहुसँग हात थाप्ने काम छुटेको छैन । किराना पसलमै ५० हजार उधारो पुगिसक्यो । ‘यो महामारी हामीजस्ता गरीवलाई मार्न आएको रहेछ’ कलावतीले निरास हुँदै भनिन् ।
भारतकै बरेलीबाट जेठको पहिलो साता नेपाल आएका ५० वर्षीय हरिष विक आत्महत्या गर्नबाट बल्लबल्ल जोगिए । ६ वर्षपछि नेपाल आएका उनमा पनि कोरोना देखियो । ३५ दिन सरकारी क्वारेन्टिनमा बसेपछि गोदावरी वडा नं. ७ मा रहेको आफ्नै घर फर्किए । क्वारेन्टिनमा बस्दा बाँया आँखामा समस्या देखियो । तर कोरोना पोजेटिभ भएको भन्दै कसैले उपचार गर्न मानेन् । बिस्तारै आँखाले देख्न छोड्यो । ‘अहिले त यो आँखाले कत्ति पनि देख्दिन’ हरिषले भने ।
उनले मजदुरी गरी पठाएको पैसाले गएको फागुन महिनामा मात्रै घर बनेको रहेछ । ‘मलाई आफ्नै घर थाहा थिएन । मसंगै आएकाहरूले औंलाले देखाउँदै ‘उ त्यही हो तिम्रो घर’ भनेर चिनाइदिए’ दिपकले भने ।
हरिषकी श्रीमती कान सुन्दिनन् । घर बनाइएको ठाउँ उनीहरूका लागि नयाँ हो । खासै कसैले चिन्दैनन् । ‘कमाएको पैसा सबै घर बनाउन ठिक्क भयो । यो नयाँ ठाउँमा ऋण दिने पनि कोही छैनन् । अब अस्पताल गएर आँखा जचाउँन पनि पैसा छैन । एकातिर पेट गुजाराको समस्या, अर्कोतिर उपचारको ।
उनी बस्दै आएको क्वारेन्टिनमा १ सय ३५ जना मध्ये ७० जनामा कोरोना पोजेटिभ देखिएको थियो । जसमा २ जनामात्रै गैर दलित थिए ।
हरिषले भने, ‘रोगले पनि हामीलाई विभेद गर्यो । क्वारेन्टिनमा हामीसंगै बसेका गैर दलितले तातो पानी, दिउँसो खाजा, खाना पनि पेटभरी खाना पाउँथे । तर हामीले तातोपानी कहिल्यै पाएनौं । खाना पनि पेटभर पाएनौं । खाँदै गर्दा थप खाना माग्यो भने, सक्कियो भन्थे ।’
अर्काको देशबाट जसोतसो ज्यान जोगाएर आए पनि आफ्नै देशभित्र भोगेको जातिय विभेद, अपमान र गरीवी सहन नसकेर आत्महत्याको सोच बनाएको उनले बताए । तर क्वारेन्टिनमा रहेका सँगैका साथीहरूले त्यो कुरा थाहा पाएर सम्झाएपछि आफू झसङ्ग भएको उनको भनाई छ ।
अहिले एउटा पसलबाट उधारो सामान ल्याएर परिवार पालिरहेको छन् उनी । साहुले सामान त दिइरहेका छन्, तर शुरुमै व्याज असुल्छन् । ५ हजारको सामान किन्दा साहुले डायरीमा ७ हजार लेख्छन् र भन्छन्, ‘तिमीहरू पैसा कहिले दिने हो कहिले । त्यहि भएर व्याज अगाडि नै जोडे । चित्त बुझे लैजाउ, नत्र केही छैन ।’ ‘यो सबै चुपचाप सहनु बाहेक विकल्प पनि त छैन’ हरिषले आफ्नो विवशता पोखे ।
गोदावरी नगरपलिकाका पारालिगलका संयोजक कौशिला विकले गोदावरी नगरपालिकाको दलित बस्ती कोरोनाको उच्च जोखिममा रहेको बताईन् । उक्त बस्तीमा कोरोनाकै कारण बेरोजगारी बढ्नु, आर्थिक संकटको कारण भोकमरी हुनु जस्ता समस्याले महिला हिंसाका घटनामा बृद्धि भएको बताईन् । उनले दलित समुदायमा आर्थिक संकटले भोकमरी बढ्दै जानुकासाथै मानसिक तनाब बढ्नु निराशयतापन आउने जस्ता समस्याहरु देखा परेको बताईन् ।
बन्दाबन्दीकै अवधिका थुप्रै मुद्धाहरु गाउँको अगुवा, बुद्धिजीविहरुसंग बसेर छलफल र परार्शको माध्यमबाट सामाधान गराएको उनको भनाई थियो । उनले दलित बस्तीमा रोजगारी, उत्पादनमूल कार्यक्रम, मनोपरामर्श जस्ता कार्यक्रम ल्याउन जरुरी रहेको बताईन् ।
सुदूरपश्चिममा कोभिड–१९प्रयोगशाला परिक्षण २०७७ साउन ३१ गते सम्मको तथ्यांक अनुसार ४ हजार ८२९ जना पोजेटिभ मध्ये महिला ११८४ र पुरुष ३६४५ जना रहेका छन् । ४२०२ जना निको भई घर फर्किसकेका छन् भने ९ जनाको मृत्यू भईसकेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयका अनुसार कैलालीमा १३५८ अछाममा ७२४ बैतडीमा ३२४ बझांगमा २५८ बाजुरामा ४५२ डडेल्धुरामा ३०५ दाचुर्लामा ४३ डोटीमा ७४३ र कञ्चनपुरमा ५९५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
गोदावरी नगरपालिकाका उप–प्रमुख रत्न कडायतले अत्तरिया ‘ट्रान्जित प्वाइन्ट’ भएकोले यो नगरपालिका कोरोनाको उच्च जोखिम रहेको बताइन् । उनका अनुसार गोदावरी नगरपालिकामा मात्रै ३ सय ४९ जनामा कोरोना पोजेटिभ देखियो, जसमा १ सय ६ महिला र २ सय ४३ पुरुष छन् । २ जनाको मृत्यु भयो भने २ सय ९४ जना निको भएर घर फर्किसकेका छन् ।
उप–प्रमुख कडायतका अनुसार यो अवधिमा नगरपालिभित्र ४ हजार भन्दा बढीको संख्यामा भारतबाट आए । बाक्लो संख्यामा रहेका दलित समुदायको आर्थिक अवस्था निकै कमजोर छ । जसले गर्दा अधिकांश पुरुष भारत कमाउन जाने र महिला मात्रै गाउँमा देखिने भएकोले संक्रमितको संख्या दलित समुदायमा बढी देखिएको हो ।
बन्दाबन्दी शुरु भएपछि नगरपालिकाले अति विपन्न परिवारलाई केही राहत वितरण गरेको थियो । तर राहत उनीहरूका लागि अत्यन्त थोरै भएको उनले स्वीकारिन् । ‘यहाँ धेरै परिवार भारतबाटै आत्मनिर्भर भएकोले अबको केही दिनमै भोकमरीको समस्या देखा पर्ने सम्भावना छ’ उनले भनिन् ।
उप–प्रमुख कडायतले अति विपन्न परिवार, दलित, महिला तथा सिमान्तकृत समुदायको लागि आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम अन्तरगत उनीहरूलाई रोजगारमूल कार्यमा खटाइने बताईन् । गोदावरी नगरपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ पनि लागु गर्ने विषयमा छलफल भएको र यो कार्यक्रमले गरीव र ज्याला मजदुरी गरिखाने वर्गमा राहत मिल्ने उनको भनाई छ ।
साथै अति न्यून आर्थिक अवस्था भएका व्यक्तिहरूलाई कृषिमा अनुदान दिने, पुरानो सीप हस्तकला प्रवद्र्धनको लागि सहयोग गर्ने, आयआर्जन तर्फ उन्मुख गराउने नगरपालिको योजना रहेको पनि उप–प्रमुख कडायतले बताइन् ।
बन्दाबन्दीमा दलित महिला र सिमान्तकृतलाई राहत वितरणमा जुटेकी अधिकारकर्मी एवम् दलित महिला अधिकार मञ्च (डीडब्लूआरएफ) नेपालकी अध्यक्ष सावित्रा घिमिरेले विपद्को बेला सुत्केरी तथा गर्भवती महिला, बालबालिका, महिला, दलित तथा जेष्ठ नगरिक उच्च जोखिममा पर्ने भएको हुँदा स्थानीय सरकारले कार्य विधी बनाउँदा लैंगिकमैत्री बनाउनु पर्ने सुझाव दिइन् ।
दलित महिला अधिकार मञ्च नेपाल विगत लामो समयदेखि महिला, दलित तथा सिमान्तकृत समुदायको हक, अधिकारको विषयमा वकालत तथा पैरबी, महिलाहरुको न्यायमा पहँच, निशुल्क कानूनी सहायता तथा महिलाहरुलाई आर्थिकरुपले बलियो बनाउन जिविकोपार्जन तर्फ काम गर्दै आएको उनको भनाई छ । साथै बन्दाबन्दीको अवधिमा जोखिममा रहेका समुदायलाई रातहपनि वितरण गर्दै आईरहेको बताईन् ।
उनले विपद्को बेला सरकारले दिने राहत दुई चार दिनको लागि मात्रै सहयोग हुने भएकाले अब नीतिमै दलित समुदायको दीगो जीविकोपार्जनका योजना समावेश गरेमात्र दीर्घकालिन समाधान हुने घिमिरेको धारणा छ ।(दलित महिला अधिकार मञ्चको सहकार्यमा कपिल पोखरेलले तयार पारेको स्टोरी )













