सुदूरपश्चिममा ओल्के पर्व मनाईदै, शान्तिकोलागि आँगनमा गाभा फाल्ने प्रचलन

कैलाली, १ भदौं । सुदूरपश्चिममा आज (भदौ १ गते) ओल्केपर्व मनाइदैछ । आजको दिन बिषेश महत्वकासाथ पिडालुको हरियो पात ‘गाभा’ को विशेष परिकार बनाई खाने प्रचलन छ ।

आजको दीन घरमा शान्तिको कामना गर्दै आँगनमा गाभा फाल्ने प्रचलन छ । खेतमा वाली सप्रियोस भनेर खेतमा ‘गाभा’ तथा अन्य फलका हाँगा ओलक हाल्ने चलन छ । सुदूरपश्चिमका पहाडी जिल्लामा ओलकका रुपमा पिडालुको ‘गाभा’, संगै सियो तथा फलामबाट बनेका सामाग्री घरको आँगनमा राख्ने गर्दछन् ।

पहाडी समुदायमा ओल्के पर्वलाई बर्षकै जेठो पर्वका रुपमा मनाइने गरिन्छ । ‘ओल्के’ पर्वलाई आफुसंग भएको मिठो मसिनो खानेकुरा अरुलाई बाँड्ने पर्वका रुपमा प िमनाइने गरेको छ । यो पर्वमा आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दुध, दही, मही र पिँडालुको गाभा, दिएर सम्मान गर्ने चलन छ ।

ओल्के पर्वलाई बर्षायामको समाप्ति भएको र घरमा नयाँ अन्न भित्र्याउन सुरु भएको दिनकारुपमा पनि मानिन्छ । खासगरि भदौंदेखि धान पाक्न सुरु हुने र पाकेको अन्न भित्र्याउन पूर्व ‘गाभा’को हरियो पत्ता राखेर सुभ दिनको आरम्भ गर्ने मान्यता चलि आएकोछ ।

विषेशगरी ‘ओल्के’ पर्वका दिन विवाहित छोरीबेटीलाई माइती घरमा बोलाएर बाबर, बटुक, गतानी डुब्का तथा फाडो, मासे माणा लगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने गर्दछन् ।भदौ १ गते दिनमा गाउँघरतिर समूहमा विभाजन भई देउडा खेल्ने गर्दछन् ।