बन्दाबन्दीले गिट्टी बिक्नै छोड्यो, गाँस पनि खोसियो
कैलाली, ३१ साउन । ‘कुटेका गिट्टीहरु पनि बन्दाबन्दीले बिक्नै छोडे, बाटो खुल्छ र गिट्टी बेचौला भन्ने आशमा १ वर्ष अगाडीदेखिका गिट्टी थुपारेरै राखिएको छ ।’ गोदावरी नगरपालिका वडा ९ मल्मीका ७० वर्षीया बृद्धा आमा पारु साउँदको भनाई हो यो ।
उनी लकडाउन खुलेपछि सडक निर्माण होस् या अन्य परियोजनको लागि कोही गिट्टी खरिद गर्न आउँछन् भन्ने आशमा सामाजिक दुरी कायमगरि गिट्टी कुटेरै दिन विताए । तर गिट्टी भने विगेन । कोरोना रोगले गाँसै खोसिएको उनी बताउँछिन् ।
छोरा बुहारी रोजगारीको शीलशीलामा प्रायः भारत तिरै हुन्छन् । महिना दिन लगाएर २/३ घनमिटर गिट्टी कुट्छु र त्यहि बेचेर दैनिकी जोहो गर्छु, उनले भनिन् । आम्दानीको श्रोत यहि ढुंगा हो । तर सरकारले बन्दाबन्दीको बेला राहतको नाममा सोधपुछ बाहेक केही दिएन ।
खुटिया नदी छेउमै बसोबास गर्दै आएका उनी सानो झुपडी बाहेक केही नभएको बताउछन् । ‘खेति हुनेले रोपाई गरे, तर मसंग घरबास बाहेक केही छैन । बन्दाबन्दीको बेला पनि गिट्टी कुट्न आउथे । एक दुई पटक नेपाल पुलिसले सोध्यो, यस्तो महामारीको बेलामा पनि किन गिट्टी कुटेको ? तर गाँस खोसिने डर काम जारी राखे ।’

बन्दाबन्दीमै एक घन मिटरको १२ सय रुपैयाँमा बेचे । त्यो भन्दा अगाडी प्रति घनमिटर १८ सयमा बेचेको थिएँ उनले भनिन् । यो बेला महंगी ह्वात्तै बढेको छ तर हामीले उत्पादन गरेको गिट्टीको रेट घटेको छ । बाध्यताबस थोरै पैसामा पनि बेच्नु परेको छ । सम्झिदाँ हाम्रो खाने आहारा लुटेको अभाष हुन्छ, पारुले भनिन् ।
उनी अबको भदौंदेखि बृद्धा भत्ता पाउदै छिन् । भत्ता पाएपछि यति धेरै मेहनत गर्न नपर्ला कि भन्ने खुशी उनको अनुहारमा प्रष्टै देखिन्थ्यो ।
बल्मीबासीलाई खुटिया नदीको ढुंगा जिउने साहारा बनेको छ । घाम पानी जाडो केही नमानी उनीहरु खुटिया नदीमै रमाईरहन्छन् । नदीको छेउमा गिट्टी कुट्नेहरुको मेला नै हुन्छ । बुढादेखि बच्चा सम्मको दिनचार्य नदीसंगै वितिरहेको ३५ वर्षीया भावना श्रीमाल बताउँछिन् ।
घामपानी नभनी दिनभरि खुटियामा गिट्टी कुटेर आफ्नो पुरा परिवारको खर्च चलाउदै आएको उनी बताईन् । ‘बिहानको उज्यालोसंगै डोको र हथौडा समातेर ढुगां खोज्न नदी जान्छु । बिहान र साँझा ढुगां बटुल्ने काम हुन्छ, दिउँसभरि कुट्ने ।’ यहि गिट्टी बेचेर नुन तेल चामल जोहो गर्छौ,’ उनले भनिन् ।

उनको १३ वर्षीया छोरी विमला श्रीमालपनि आमालाई गिट्टी कुट्नमा सघाँउछिन् । स्कुल लागेको बेला विमला विहान ढुंगा बटुलेर पढ्न जान्छिन् । साँझा घरको काममा सहघाउने गरेको छिन् ।
उनी भनिन् ‘कहिले काँही गिट्टी कुट्दा कुट्दै हथौडाले हातमा चोट लाग्छ, औलाहरु थिचिन्छ, धेरै दुख्छ । तर के गर्नु गिट्टी कुट्नु बाहेकको विकल्प पनि त छैन । हुने खानेका छोराछोरी बन्दाबन्दीको बेलामा पनि अनलाइन कक्षामा सहभागी भएर पढिरहेको छुन्छौं, तर हाम्रो दिन यहि गिट्टी कुट्नमै बित्छ ।’
उनका बुवा भारतमै काम गर्छन् तर बन्दाबन्दीको कारण अहिले नेपाल आएका छन् । अहिले बुवाको रोजगारीपनि खोसिएको छ, यता गिट्टी नबिकेर छाक तार्नै धौ धौ भईसकेको विमला बताउँछिन् ।
उनले भनिन् ‘बन्दाबन्दी अवधिमा हामी पुरै परिवार गिट्टी कुट्यो, र ७ घन मिटर पुगाएका छौं । तर किन्ने मान्छे नपाएर अनिकाल लागेको छ ।’ पहिला १८ सयमा प्रति घन मिटर बच्दै आएपनि अहिले १२ सयमा पनि किन्न मानिराखेका छैनन् ।
पछिल्लो केही वर्ष यता ठाउँ–ठाउँमा क्रेसर सञ्चालन भएको हुँदा धेरैले त्यहिबाटै खरिद गर्छन् । वर्षौदेखि गर्दैको गिट्टी कुट्ने काम संकटमा पर्न थालेको उनी बताउछिन् । सानैदेखि गिट्टी कुट्ने काम सिक्यो तर समय परिस्थिति अनुसार आफूहरुको सीप खेरा जाने अवस्थामा पुगे चिन्ता व्यक्त गरिन् ।

बल्मी बस्तीका स्थानीयहरु सरकारबाट पाउने सेवा सुविधाबाट बेखबर छन् । उनीहरु हलसम्म कुनै खालका योजनाहरु नपाएको गुनासो गर्छन् । बन्दाबन्दीको बेलामा पनि आफूहरु राहत समेत नपाएको बताए ।
उता गोदावरी नगरपालिकाका उप–प्रमुख रत्ना कडायतले दैनिक मजदुरी गरिखाने परिवारलाई नगरपालिकाले थोरै भएपनि राहत दिएको बताईन् ।
नगरपालिकाले कार्यविधि बनाएर रहत वितरण गरेको उनको भनाई थियो । उनले अतिविपन्न, दलित, एकल महिला, अपांगता भएको व्यक्ति बढि जोखिममा पर्ने भएकोले उनीहरुलाई नगरपालिकाले मापदण्डको आधारमा राहत वितरण गरेको उप–प्रमुख कडायतले बताईन् ।













