कैलारी गाउँपालिकामा लकडाउन खुकुलो, मास्क अनिवार्य

कैलाली, २६ साउन । कैलालीको कैलारी गाउँपालिकामा यहि साउन २१ गते एकैदिन ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सोहीदिनदेखि अनिश्चितकालिन बन्दाबन्दी भएको थियो । गाउँपालिकाले सोमबारदेखि उक्त बन्दीबन्दी आंशिक रुपमा खुकुलो पारेको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नेपाल सरकार स्वास्थ्यमन्त्रालय र गृह मन्त्रालयको निर्देशन र मापदण्ड पूर्णरुपले पालना गर्नेगरि लकडाउनलाई आंशिक रुपमा खुकुलो पार्ने निर्णय गरेको बताए ।

गाउँपालिकामा कर्मचारीसहितका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि रोकथाम र नियन्त्रणका लागि साउन २१ गतेदेखि गाउँपालिकामा लकडाउन जारी गरिएको थियो । आंशिक रुपमा लकडाउन खुलेसंगै बजार क्षेत्र, बजार व्यवसाय, वित्तिय संघसंस्था, सवारी साधनले निश्चित मापदण्ड पुरा गर्नु पर्ने अध्यक्ष चौधरीले जानकारी दिए ।

उनले वित्तिय संघसंस्थाले सामाजिक दुरी कायम गरि सुरक्षा भत्ता वितरण गर्नु पर्ने, मोटरसाइकलमा २ जना मात्र सवार र अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, अटोमा २ जना मात्र सवार गर्न पाउने, सेनिटाइजर र मास्क अनिवार्य रुपमा लगाउनु पर्ने बताए ।

गाउँपालिकाका कर्मचारी सहित ५ जनाले जिते कोरोना

कैलालीको कैलारी गाउँपालिकाका कर्मचारीसहित पाँच जनाले १२ दिनमा कोरोना जितेका छन् । गाउँपालिकामा कार्यरत ल्याब टेक्निसियन, दीपेन्द्र माध्यमिक विद्यालयका चौकीदार र क्वारेन्टाइनमा खाना पकाउने कामदारले १२ दिनमा कोरोना जितेका हुन । यसैगरी, कोरोना जित्नेमा भारतबाट फर्केका दुई जना स्थानीय व्यक्ति पनि रहेका छन् ।

साउन १३ गते उहाँहरु सबैको स्वाब नमूना सङ्कलन गरिएको थियो । २० गते स्वाब परीक्षणको रिपोर्ट आएको थियो । सङ्क्रमित सात जनामध्ये निको हुनु भएका स्वास्थ्यकर्मीसहित पाँच जनालाई आइतबार घर पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले जानकारी दिए । उनले अब दुई जनालेमात्रै कोरोना जित्न बाँकी रहेको उल्लेख गरे ।

यसैबीच, सङ्क्रमित भएका स्वास्थ्यकर्मी लगायतका व्यक्तिको सम्पर्कमा आएका १५२ जनाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक्ट ट्रेसिङ गरिएको ८४ जनाको परीक्षण रिपोर्ट शुक्रबार आएको थियो । ६८ जनाको रिपोर्ट आइतबार आएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका बैंकका ११ जना कर्मचारीसहित क्वारेन्टाइनमा रहेका व्यक्ति र क्वारेन्टाइन नजिकका समुदायको गरी ७० जनाको स्वाब नमूना परीक्षणको आज लागि पठाइएको सापकोटाले जानकारी दिए ।